पाथीभराको केवलकार तत्काल रोक्न माग गर्दै धनकुटामा विरोध प्रदर्शन
काठमाडौँ । पाथीभराको केवलकार तत्काल रोक्न माग गर्दै धनकुटामा विरोध प्रदर्शन भएको छ। प्रतिनिधि सभाको चुनावको मुखमा स्थानीय समुदायले ताप्लेजुङको पाथीभरा जाने बाटोमा निर्माण हुँदै गरेको केवलकार परियोजना तत्काल रोक्न माग गर्दै धनकुटाको मदन चौकमा विरोध कार्यक्रम आयोजना भएको हो ।
कोशी प्रदेश नाम खारेज जिल्ला संघर्ष समिति र मुकुम्लुङ संरक्षण संघर्ष समितिको संयुक्त आयोजनामा धनकुटामा विरोध कार्यक्रम गरिएको हो । विगत केही महिना यता सो केवलकार निर्माण नहुनु पर्ने मत राख्दै आइरहेका स्थानियहरुलाई सरकारी दमन गरी रहेको छ भने निर्माण कम्पनीले काम जारी राख्दै आइरहेको हो । स्थानीयहरुले केवलकार निर्माण नरोकिए चुनाव नै हुन नदिने अडान समेत राखी रहेका छन् ।
धनकुटाको विरोध कार्यक्रममा सहभागीहरुले मुकुम्लुङ–पाथीभरा क्षेत्रलाई आदिवासी समुदायको ऐतिहासिक, सांस्कृतिक र धार्मिक आस्थाको केन्द्र भएको उल्लेख गर्दै उक्त क्षेत्रमा केवलकार निर्माणले पहिचान, परम्परा र वातावरणमा गम्भीर असर पार्ने दाबी गरेका छन्। उनीहरूले विकासको नाममा स्थानीय समुदायको भावना, धार्मिक मान्यता र ऐतिहासिक महत्वमाथि हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् ।
किराँत याक्थुमचुम्लुङका केन्द्रीय सदस्य चन्द्रसिंह नेम्वाङले मुकुम्लुङलाई केवल धार्मिकस्थल मात्र नभई आदिवासी समुदायको सभ्यता, संस्कार र आत्मसम्मानसँग जोडिएको भूमि भएको बताए। विश्वहिन्दु महासंघ कोशी प्रदेशका आनन्द सन्तोषी राईले समेत पाथीभरा क्षेत्रको महत्व र यस क्षेत्रमा धार्मिक तथा सांस्कृतिक गतिविधिको संवेदनशीलतालाई ध्यानमा राख्दै कुनै पनि निर्माण कार्य अघि बढाउन नहुने बताएका छन् ।
उनीहरूले पाथीभरा क्षेत्रमा पूर्वसूचना, स्थानीयको सहमति र पर्याप्त वातावरणीय अध्ययन विना अगाडि बढाइएको कुनै पनि आयोजना खारेज गर्नुपर्ने माग राखेका छन्। आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति धनकुटाका अध्यक्ष नवीनकिशोर शाक्यले पनि विकासका नाममा स्थानीय संस्कृति, प्रकृति र आस्थामाथि चोट पु¥याउन नहुने स्पष्ट पारेका छन्। स्थानीयको आस्थासँग जोडिएका स्थानमा योजनाहरूको प्रभाव मूल्याङ्कन नगरी निर्माण अघि बड्न नहुने मत स्थानिहरुको रहेको छ ।
यसअघि पनि ताप्लेजुङ, धरान, विराटनगर लगायत स्थानमा केवलकार निर्माणको विरोधमा प्रदर्शन, ज्ञापनपत्र र सांकेतिक आन्दोलन हुँदै आएका छन्। आन्दोलनकारीहरूले जनतालाई सचेत गराउँदै आएका छन् र परियोजनाको पारदर्शिता, वातावरणीय प्रभाव तथा स्थानीय समुदायको सहभागिताबिना अघि बढाइएको निर्णयप्रति प्रश्न उठाउँदै आएका छन्।
फेरी अब माघ १८ गतेदेखि केवलकार निर्माणविरुद्ध ताप्लेजुङमा आन्दोलनको तयारी भइरहेको छ । त्यसअघि नै विभिन्न ठाउँमा प्रदर्शन र ज्ञापनपत्र पेश गरी सरकार र सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइसकेका छन् । तर पनि परियोजना रोक्न सरकार र निर्माण कम्पनीले कुनै स्पष्ट कदम नचालेको स्थानीय आन्दोलनकर्ताहरूले बताउँदै आएका छन् ।
विरोध कार्यक्रमका सहभागीहरूले आगामी दिनमा थप व्यापक आन्दोलनको चेतावनी दिएका छन्। पाथीभरा–मुकुम्लुङ क्षेत्रलाई ‘विकास’को नाममा मात्र भौतिक संरचनाले छोपेर स्थानीय समुदायको पहिचानमाथि प्रश्न उठाउन नहुने स्थानियहरुको भनाइ रहेको छ। स्थानीय धार्मिक र सांस्कृतिक आस्थालाई सम्मान गर्दै परियोजनालाई पुनः समीक्षा गर्नुपर्ने उनीहरूको माग छ।
धनकुटा र ताप्लेजुङ क्षेत्रमा फैलिरहेको विरोधले यस परियोजनाको सामाजिक तथा राजनीतिक संवेदनशीलता बढाएको छ। चुनावी माहोलमा स्थानीय आन्दोलन र सरकारबीचको टकरावले यस विषयलाई अझै विवादित बनाएको छ।
