नागढुंगा सुरुङ सञ्चालनका लागि १० कम्पनी प्रतिस्पर्धामा
काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनका लागि सेवा प्रदायक छनोट प्रक्रिया अन्तिम चरणतर्फ अघि बढेको छ। अन्तर्राष्ट्रिय बोलपत्रमार्फत सेवा प्रदायक छनोट गर्न आह्वान गरिएको प्रक्रियामा १० वटा कम्पनी प्रतिस्पर्धामा सहभागी भएका छन्। ३० पुससम्मको म्यादपछि बोलपत्र खोलिएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ।
बोलपत्रमा सहभागी कम्पनीहरूको प्राविधिक मूल्यांकनको काम हाल भइरहेको छ। आयोजनाका अनुसार १५ माघभित्र प्राविधिक मूल्यांकन सकिने र त्यसपछि आर्थिक प्रस्ताव खोलिनेछ। आर्थिक प्रस्तावको मूल्यांकन १५ फागुनभित्र सक्ने लक्ष्य राखिएको छ। प्रक्रिया पूरा भएपछि छानिने सेवा प्रदायकसँग फागुनभित्रै सम्झौता गर्ने तयारी छ।
सेवा प्रदायक छनोटपछि सुरुङ सञ्चालनका लागि आवश्यक जनशक्तिलाई तालिम दिइनेछ। त्यसअनुसार चैत महिनाभित्र परीक्षणका रूपमा सुरुङ सञ्चालन गर्ने तयारी गरिएको छ। सुरुङ सञ्चालनका लागि सेवा प्रदायकलाई प्रारम्भिक रूपमा तीन महिनाको परीक्षण अवधि दिइने व्यवस्था गरिएको छ।
सुरुङ सञ्चालनका लागि अन्तर्राष्ट्रिय बोलपत्र पहिलो पटक गत १६ कात्तिकमा आह्वान गरिएको थियो। सुरुमा २ पुससम्म म्याद तोकिएको भए पनि विदेशी तथा नेपाली निर्माण व्यवसायीको मागअनुसार म्याद दुई पटक थप गर्दै ३० पुससम्म पुर्याइएको थियो। प्राविधिक प्रावधानमा स्पष्टता आवश्यक भएको भन्दै समय थप गरिएको आयोजनाले जनाएको छ।
बोलपत्र प्रक्रियामा सहभागी सबै १० वटा विदेशी कम्पनी नेपाली कम्पनीसँग जोइन्ट भेन्चर मा रहेका छन्। प्रतिस्पर्धामा ६ वटा चिनियाँ, ३ वटा भारतीय र १ वटा टर्किस कम्पनी सहभागी रहेको सडक विभाग स्रोतले जनाएको छ। अन्तर्राष्ट्रिय बोलपत्र भएकाले विदेशी कम्पनीले अनिवार्य रूपमा नेपाली कम्पनीसँग जोइन्ट भेन्चर गर्नुपर्ने प्रावधान राखिएको छ।
छानिने सेवा प्रदायकले पाँच वर्षसम्म सुरुङमार्गको सञ्चालन तथा व्यवस्थापन गर्नेछ। यस अवधिमा सुरुङको मर्मतसम्भार, ट्राफिक व्यवस्थापन, आपत्कालीन उद्धार, टोल संकलन, सुरुङ र दुबै तर्फको २.८ किलोमिटर पहुँच सडकको रेखदेख गर्नुपर्नेछ। सुरुङ ३ सय ६५ दिन, चौबीसै घण्टा सञ्चालन गर्नुपर्ने र करिब १ सय ५० जना जनशक्ति परिचालन गरिनेछ।
सञ्चालन खर्च सरकारले बेहोर्नेछ भने सेवा प्रदायकले उठाएको टोल रकम दैनिक रूपमा सडक बोर्ड नेपालको खातामा जम्मा गर्नुपर्नेछ। टोल संकलन र व्यवस्थापनको अनुगमन सडक बोर्ड नेपालले गर्नेछ।
सडक विभागका अनुसार नागढुंगा–सिस्नेखोला सुरुङमार्गको निर्माण कार्य ९८ प्रतिशत सम्पन्न भइसकेको छ। हाल सेवा प्रदायक छनोट, टोल प्लाजा निर्माण र धादिङतर्फको पहिरो व्यवस्थापनको काम बाँकी छ। सुरुङभित्र आवश्यक सबै संरचना जडान भइसकेका छन्।
निर्माणका क्रममा पहिरो व्यवस्थापन तथा परामर्श सेवामा थप खर्च लागेपछि जापान सरकारसँग करिब साढे ५ अर्ब रुपैयाँ थप ऋण लिने तयारी गरिएको छ। उक्त ऋण स्वीकृत भएमा सुरुङमार्ग निर्माणका लागि जापानसँग लिइने कुल ऋण साढे २१ अर्ब रुपैयाँ पुग्नेछ। हाल आयोजनामा जापानको १६ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी रहेको छ।
सुरुङमार्ग सन् २०२६ को सुरुवातदेखि सञ्चालनमा ल्याउने लक्ष्य राखिए पनि सेवा प्रदायक छनोट ढिलो हुँदा सञ्चालन समय केही पछाडि सरेको छ। हाल धादिङतर्फ टोल प्लाजा निर्माण र पहिरो नियन्त्रणको काम जारी छ। निर्माण कम्पनीको म्याद पहिरो रोकथामका लागि १२ वैशाख २०८३ सम्म थप गरिएको छ।
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग यातायात सञ्चालनसम्बन्धी निर्देशिका, २०८१ अनुसार सुरुङ सञ्चालनमा आएपछि पैदल यात्री, दुईपांग्रे, तीनपांग्रे तथा नन–मोटोराइज्ड सवारीलाई प्रवेश निषेध गरिनेछ। डिजेल, पेट्रोल, ग्यासजस्ता प्रज्वलनशील तथा विस्फोटक पदार्थ बोकेका सवारीसाधनलाई पनि सुरुङ प्रयोग गर्न नदिने व्यवस्था गरिएको छ।
४ कात्तिक २०७६ मा निर्माण सुरु भएको सुरुङमार्गको मुख्य सुरुङ २ हजार ६ सय ८८ मिटर र आपत्कालीन सुरुङ २ हजार ५ सय ५७ मिटर लामो छ। सुरुङ निर्माणको काम जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरिरहेको छ। सुरुङ सञ्चालनमा आएपछि मालवाहक सवारीसाधनको यात्रा समय ३० देखि ३५ मिनेटसम्म बचत हुने आयोजनाको अनुमान छ।
