शुक्रबार ०८ फागुन, २०८२

भिसा लागेपछि मात्र पैसा तिर्नू : अमेरिकी दूतावास

भिसा लागेपछि मात्र पैसा तिर्नू : अमेरिकी दूतावास

काठमाडौं। यदि तपाईं अमेरिका जान व्यवसायिक वा पर्यटक भिसाका लागि अन्तर्वार्ता दिँदै हुनुहुन्छ भने अब अग्रिम भिसा बन्ड तिर्नु आवश्यक छैन। नेपालस्थित अमेरिकी दूतावासले बुधबार सार्वजनिक गरेको जानकारी अनुसार, भिसा अन्तर्वार्ता अघि बन्ड तिर्नु भनेको भिसा पक्का हुने ग्यारेण्टी होइन।

अन्तर्वार्तापछि मात्र कन्सुलरले भिसा स्वीकृत भएमा आधिकारिक वेबसाइटको लिंकसहित बन्ड कसरी तिर्ने भनेर निर्देशन दिनेछन्। यसअघि गरिएको भुक्तानी फिर्ता नहुने दूतावासले स्पष्ट पारेको छ।

अमेरिकाको विदेश मन्त्रालयले प्रवेशअघि धरौटी तिर्नुपर्ने देशको सूचीमा नेपालसहित सातवटा देश थपेको थियो। सो सूचीअनुसार, जनवरी २१ देखि नेपालीहरूले भिसा निवेदनको क्रममा ५ देखि १५ हजार अमेरिकी डलर (करीब ९.९–२१.६ लाख नेपाली रुपैयाँ) धरौटी तिर्नुपर्ने व्यवस्था थियो।

नेपालसँगै धरौटी तिर्नुपर्ने सूचीमा अन्य देशहरूमा अल्जेरिया, अंगोला, एन्टिगा एन्ड बार्बुडा, बंगलादेश, बेनिन, भुटान, बोत्स्वाना, बुरुन्डी, काबो भेर्दे, आइभरी कोस्ट, क्युबा, जिबुटी, डोमिनिका, फिजी, गाबोन, द गाम्बिया, गिनी, गिनी बिसाउ, किर्गिजस्तान, मलावी, मौरिटानिया, नामिबिया, नाइजेरिया, साओ टोम एन्ड प्रिन्सिपे, सेनेगल, ताजिकिस्तान, तान्जानिया, टोगो, टोंगा, तुर्कमेनिस्तान, टुभालु, युगान्डा, भानुआतु, भेनेजुएला, जाम्बिया र जिम्बाब्वे रहेका छन्।

दूतावासको यो निर्णयले अमेरिकी भिसाका लागि अन्तर्वार्तापूर्व अनावश्यक वित्तीय बोझ घटाउनेछ र प्रक्रियालाई सहज बनाउने अपेक्षा गरिएको छ।