बिहीबार १५ माघ, २०८२

दुबईमा रहेका प्रेमीलाई नेपाल बोलाएर श्रीमान् र सासूको हत्या !

दुबईमा रहेका प्रेमीलाई नेपाल बोलाएर श्रीमान् र सासूको हत्या !

काठमाडौं । बाराको परवानीपुरकी सुमित्रादेवि र उनका छोरा रामेश्वर मण्डलको हत्यामा रामेश्वर मण्डलकै श्रीमतीको योजना भएको खुलेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा रामेश्वरकै श्रीमती २३ वर्षीया मानिता देवीको योजनामा सासू सुमित्रा र श्रीमान् रामेश्वरको हत्या भएको निष्कर्ष प्रहरीले निकालेको हो ।

बारा प्रहरीले मानितासहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ परेका युवा मानिताका पूर्वप्रेमी रहेको खुलेको छ ।

प्रहरीको अनुसन्धानका क्रममा वैदेशिक रोजगारीका लागि दुबईमा रहेका ती युवक मानिताका श्रीमान् र उनकी आमा सुमित्राको हत्या योजनासहित नेपाल आएको खुलेको छ ।

उनी दुई दिनअघि माघ १२ गते मात्रै दुबईबाट काठमाडौं आएको र त्यही दिन बारा पुगेको खुलेको छ । रामेश्वरकी श्रीमती र ती युवकले 'सुपारी' दिएर ‘कन्ट्र्याक्ट किलर’को प्रयोग गरे वा ती युवकले नै आफैँले हत्या गरे भन्नेबारेमा अनुसन्धान भइरहेको छ ।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार भने मानिता देवीका प्रेमीकाले 'सुपारी' दिएर कन्ट्र्याक्ट किलरको प्रयोग गरेको हुनसक्ने आशंका गरेको छ ।

बारा परवानीपुर गाउँपालिका–१ का ४६ वर्षीया सुमित्रा देवी र उनका २८ वर्षीय छोरा रामेश्वर मण्डलको गएराति घरभित्रै घाटीमा चक्कु प्रहार गरेर हत्या गरिएको थियो ।

मृतक रामेश्वरका बुबा ५० वर्षीय जगरुप मण्डल र बहिनी २० वर्षीया रिणा कुमारी मण्डल पनि घाइते छन् । घाइतेको स्थानीय एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ । घटनाको अनुसन्धान अझै जारी रहेको बारा प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरले जनाकारी दिए ।

हत्यामा सलग्न एक व्यक्ती भारत भागेको आंशकामा प्रहरीले अनुसन्धान तीव्र पारेको छ । प्रहरीका अनुसार मानिता देवीका प्रेमीको शरीरमासमेत सामान्य चोटपटक लागेको भेटिएको छ । मानिता देवी पनि सामान्य घाइते भएकी छन् ।