वाणिज्य बैंकहरुको नाफा साढे ११ प्रतिशतले बढ्यो, खराब कर्जाको चुनौती कायमै
काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दा समग्र नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.५१ प्रतिशतले बढेको छ ।
बैंकहरुले लगानी र ऋण व्यवस्थापनमा केही सुधार गरे पनि बढ्दो खराब कर्जा, आर्थिक मन्दी र उच्च सञ्चालन खर्चका कारण नाफा अपेक्षित रूपमा उकासिन नसकेको विश्लेषण गरिएको छ।
गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकहरुले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३० अर्ब ५९ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.५१ प्रतिशत बढेको छ । २० बैंकहरुमध्ये ११ बैंकको नाफा बढेसँगै समग्र नाफा साढे ११ प्रतिशत बढ्न पुगेको हो।
यस अवधिमा धेरैजसो बैंकहरुले आफ्नो लगानी र ऋण व्यवस्थापन सुधार गरेर नाफा वृद्धि गरेका छन् । तर, आर्थिक चुनौती र उच्च सञ्चालन खर्चका कारण केही बैंकहरुकोे नाफा घट्न पुगेको छ ।
कुल २० वाणिज्य बैंकहरूमध्ये नबिल, ग्लोबल आइएमई र कुमारी बैंक नाफाको आधारमा ’टप ३’ मा पर्न सफल भएका छन् । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा नबिल बैंक लिमिटेडले सबैभन्दा बढी नाफा कमाएको छ। सो बैंकले ४ अर्ब ७५ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.७१ प्रतिशत बढी हो।
त्यस्तै, सो अवधिसम्ममा ग्लोबल आइएमई बैंकले ३ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको तुलनामा ६.५० प्रतिशतको वृद्धि हो । कुमारी बैंकले २ अर्ब ७२ करोड रुपैयाँ र एभरेष्ट बैंकले २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको छ।
पुस मसान्तसम्ममा लक्ष्मी सनराइज बैंक भने नोक्सानीमा रहेको छ। सो बैंकको खुद नाफा २७ करोड ३६ लाख रुपैयाँ ऋणात्मक रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
कुमारी बैंकको नाफा सर्वाधिक ८८६.५० प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा इम्पेरमेन्ट चार्जका कारण कम नाफा देखिएको यस बैंकको चालु आर्थिक वर्षको सोही अवधिमा सोही चार्ज घटेसँगै नाफामा उल्लेख्य सुधार देखिएको हो। गत आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा २७ करोड ५७ लाख रुपैयाँ रहेको यस बैंकको खुद नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ।
त्यस्तै, नेपाल बैंकले १८३.०४ प्रतिशत, सिद्धार्थ बैंकले १५०.२० प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले १३२.०४ प्रतिशतले नाफा बढाउन सफल भएका छन्। समीक्षा अवधिमा नेपाल बैंकको नाफा १८३.०४ प्रतिशत बढेको छ भने सिद्धार्थ बैंकको १५०.२० प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको १३२.०४ प्रतिशत बढेको छ।
लक्ष्मी सनराइज बैंकको नाफामा सर्वाधिक १२३.५५ प्रतिशतको गिरावट आएसँगै यो बैंक २७ करोड ३६ लाख रुपैयाँ घाटामा पुगेको छ । कृषि विकास बैंकको नाफामा ९९.९३ प्रतिशतको भारी गिरावट आएको छ ।
जसले गर्दा सो बैंकको नाफा ७० लाख ७४ हजारमा खुम्चिएको छ । नेपाल एसबीआई बैंकको नाफा पनि ८८.५४ प्रतिशतले घटेको देखिन्छ । सिटिजन्स बैंकको खुद नाफा भने समीक्षा अवधिमा ४५.७८ प्रतिशत घटेको छ।
पछिल्लो समय देशको आर्थिक सुस्ती, आन्दोलनको प्रभाव, प्रतिस्पर्धात्मक ब्याजदर र बढ्दो खराब कर्जाले बैंकिङ क्षेत्रलाई दबाबमा पारेको देखिन्छ। ऋण संकलनमा चुनौती थपिँदा नाफा वृद्धिमा अवरोध सिर्जना भएको विश्लेषण गरिएको छ। आगामी दिनमा बैंकहरूले लागत व्यवस्थापन, ऋण असुली सुधार र डिजिटल सेवाको विस्तारमा ध्यान दिन सके नाफा वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
साथै प्रतिस्पर्धात्मक ब्याजदर, आर्थिक गतिविधिमा सुस्ती, उच्च सञ्चालकीय खर्च र ऋण व्यवस्थापन चुनौतीहरु बढेकाले केही बैंकहरुको नाफा घटेको विश्लेषण गरिएको छ । आगामी महिनामा बैंकहरुले ऋण संकलन सुधार, लागत व्यवस्थापन र डिजिटल सेवामा ध्यान दिनु आवश्यक देखिन्छ जसले नाफा वृद्धिमा मद्दत पु¥याउने सम्भावना रहन्छ ।
