बिहीबार १५ माघ, २०८२

राप्ती प्रतिष्ठानमा अनियमितता : सीटी स्क्यान मेशिन खरिदमा घोटाला, २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

राप्ती प्रतिष्ठानमा अनियमितता : सीटी स्क्यान मेशिन खरिदमा घोटाला, २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको सीटी स्क्यान मेशिन खरिदमा गम्भीर आर्थिक अनियमितता भएको ठहर गर्दै प्रतिष्ठानका तत्कालीन उपकूलपति प्रा.डा. संगिता सिंह भण्डारीसहित २१ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले २०८२ माघ १५ गते जारी गरेको प्रेस विज्ञप्ति अनुसार, कम गुणस्तरको मेसिन खरिद गरी सार्वजनिक संस्थालाई आर्थिक हानी पुर्‍याएको अभियोगमा राष्ट्रसेवक कर्मचारी, प्राविधिक, मूल्याङ्कन समितिका पदाधिकारी तथा आपूर्तिकर्ता कम्पनीसमेतलाई प्रतिवादी बनाइएको हो।

अनुसन्धानका क्रममा प्रतिष्ठानले सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ विपरीत खरिद आवश्यकताको पहिचान र खरिद गुरुयोजना नै नबनाई मेसिन खरिद प्रक्रिया अगाडि बढाएको पाइएको आयोगले जनाएको छ। लागत अनुमान तयार गर्न निजी कम्पनीहरूसँग कोटेशन माग गरी रू ९ करोड २२ लाखभन्दा बढी लागत अनुमान स्वीकृत गरिएको थियो।

२०७६ माघ २८ गते गोरखापत्रमा राष्ट्रियस्तरको बोलपत्र आह्वान गरिए पनि सो प्रक्रियामा अन्तर्राष्ट्रिय बोलपत्रमा मात्र प्रयोग हुने कागजात समावेश गरिएको, बोलपत्र खोल्नुअघि नै प्राविधिक स्पेसिफिकेशन संशोधन गरिएको र सो अनुसार लागत अनुमान संशोधन नगरिएको आयोगको निष्कर्ष छ।