बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा पनि बढ्यो, पाँच महिनामै खर्ब नजिक
काठमाडौं । विश्व बजारमा सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरिरहँदा बैंक तथा वित्तीय संस्थाहरूले सुनचाँदी धितोमा प्रवाह गर्ने कर्जा पनि बढाएका छन् । पछिल्लो केही महिनादेखि लगातार मूल्य बढिरहँदा नेपाली बैंक तथा वित्तीय संस्थाहरुले सुनचाँदी धितोमा करिब १ खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य ३ लाख ३९ हजार ३०० रुपैयाँ रहेको छ भने चाँदीको मूल्य ७ हजार ५०५ रुपैयाँ पुगेको छ । यो नेपाली बजारमा सुन र चाँदीको मूल्य हालसम्मकै उच्च मूल्य हो । वल्र्ड गोल्ड काउन्सिलका अनुसार बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य इतिहासकै उच्च प्रतिऔँस ५ हजार ५२६.५३ अमेरिकी डलर पुगेको छ । यसरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा एकपछि अर्को कीर्तिमान कायम भइरहँदा नेपालका बैंक तथा वित्तीय संस्थाहरूले सुनचाँदी धितोमा प्रवाह हुने कर्जा बढाएको देखिएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको मंसिरसम्म बैंक तथा वित्तीय संस्थाहरुले सुनचाँदी धितोमा ९४ अर्ब ५४ करोड ३० लाख रुपैयाँको कर्जा प्रवाह गरेका छन् । यो २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनी गरि ५४ वटा संस्थाहरूले प्रवाह गरेको कर्जा हो । चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा प्रवाह भएको यस्तो कर्जा गत आवको सोही अवधिको तुलनामा २८ अर्ब ९८ करोड ४० लाख रुपैयाँले बढी हो ।
गत आवको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सुनचाँदी धितोमा मात्र कुल ६५ अर्ब ५५ करोड ९० लाख रुपैयाँ कर्जा दिएका थिए । घरजग्गाजस्तै सुनचाँदी पनि लगानीको लागि भरपर्दो स्रोत भएको र विश्व बजारमा सुनचाँदीको मूल्य केही अपवादबाहेक सधैँजसो बढ््ने भएकाले पनि बैंक तथा फाइनान्स कम्पनीहरूले सुनचाँदी धितोमा कर्जा बढाएको हुन सक्ने बताइएको छ ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूले मात्र चालू आवको मंसिर मसान्तसम्ममा सुनचाँदी धितोमा ८७ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा २७ अर्ब ३४ करोड रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूले सुनचाँदी धितोमा मात्र कुल ६० अर्ब २२ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका थिए । विकास बैंकहरूले भने चालू आवको मंसिर मसान्तसम्ममा सुनचाँदी धितोमा कुल ६ अर्ब १६ करोड १० लाख रुपैयाँबराबरको कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा १ अर्ब ९२ करोड ३० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा विकास बैंकहरूले सुनचाँदी धितोमा ४ अर्ब २३ करोड ८० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका थिए ।
फाइनान्स कम्पनीहरूले भने चालू आवको मंसिर मसान्तसम्ममा सुनचाँदी धितोमा कुल ८२ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा २७ करोड ९० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूले सुनचाँदी धितोमा १ अर्ब १० करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका थिए । नेपाली बजारमा सुनको मूल्य अझै पनि वृद्धि हुँदै जाने र तत्काल घट्ने सम्भावना नदेखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष माणकरत्न शाक्यको भनाइ छ । २०२६ को अन्तिमसम्ममा अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔँस ७ हजार डलर पुग्ने उनले बताए । सुनचाँदीको मूल्य बढ्दा बजारमा माग भने ठप्प जस्तै रहेको व्यवसायीहरुले बताएका छन् । सुनको मूल्य अहिले उच्च विन्दुमा रहेकाले लगानी गर्दा भने जोखिम बढी हुने पूर्व अध्यक्ष शाक्यको भनाइ छ ।
