शुक्रबार १६ माघ, २०८२

नेको इन्स्योरेन्सले बोलायो साधारणसभा

नेको इन्स्योरेन्सले बोलायो साधारणसभा

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले फागुन ११ गतेका लागि ३० औं साधारणसभा बोलाएको हो ।

उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको नाफा नोक्सान हिसाबबाट चुक्ता पूँजीको १२.७८९४ प्रतिशत नगद लाभांश (कर सहित) र ३ प्रतिशत अर्थात् १०० कित्ता बराबर ३ कित्ताका दरले बोनस शेयर वितरणको प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी सो सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने गत आवको वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षण प्रतिवेदन सहित सम्पूर्ण वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नेछ। कम्पनी ऐनको दफा १११ बमोजिम चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सोही सभाले पारित गर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले माघ २५ गते एक दिन सेयर दाखिल खारेज बन्द (बूक क्लोज) गर्ने जनाएको छ। तसर्थ बूक क्लोजको आधारमा माघ २४ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम सेयरधनी मात्रै सो सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।