बजार मूल्य विश्लेषण प्रतिवेदन: बिचौलियाले बढायो तरकारी–फलफूलको भाउ, मूल्य अस्थिर
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पुस महिनाको बजार मूल्यसम्बन्धी विश्लेषण प्रतिवेदन सार्वजनिक गरेको छ । विभागले बजार मूल्यसँग सम्बन्धित तथ्याङ्कलाई मूल्य तथ्याङ्कको आधार मानेर विभिन्न क्षेत्रबाट सङ्कलन गरिएको विवरण सार्वजनिक गरेको हो ।
विभागका अनुसार पुस महिनामा बजार मूल्यमा समग्र रूपमा सामान्य उतारचढाव देखिएको छ । प्रतिवेदनमा तरकारी, फलफूल तथा अन्य खाद्यान्नको उत्पादन मूल्यभन्दा बिचौलियाको भूमिकाका कारण बजार मूल्यमा अस्थिरता देखिने गरेको उल्लेख गरिएको छ । यस अवस्थालाई नियन्त्रण गर्न सरकारी संस्थानहरूको क्षमतालाई सुदृढ बनाउँदै मूल्य स्थिरता कायम गर्ने विकल्पहरू विकास गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
मूल्य अस्थिरताको निरुत्साहनका लागि संस्थान, सहकारी, व्यापारिक सञ्जाल तथा साझेदारीजस्ता वैकल्पिक व्यापार प्रणालीको विकास आवश्यक रहेको प्रतिवेदनको निष्कर्ष छ । साथै उत्पादन वृद्धि गर्ने, वितरण तह घटाउने, आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउने र बिचौलियाको अनावश्यक मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने सुझाव विभागले दिएको छ ।
यस्तै, सिन्डिकेट तथा कार्टेलिङ अन्त्य गरी स्वच्छ र प्रतिस्पर्धी बजार संरचना निर्माण गर्नुपर्ने तथा नियमित बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने सुझाव पनि अध्ययनमा समावेश गरिएको छ ।
विभागले विराटनगर, वीरगन्ज, भैरहवा, नेपालगन्ज, धनगढी र काठमाडौँस्थित कार्यालयमार्फत खाद्य वस्तु तथा अन्य उपभोग्य सामग्रीको न्यूनतम र अधिकतम मूल्य पत्ता लगाउने उद्देश्यले अध्ययन गरेको जनाएको छ ।
अध्ययनअनुसार विभिन्न सहरमा सोना मन्सुली, स्टिम जिरा, जनरल जिरा र मोटा चामलको मूल्यमा सामान्य उतारचढाव देखिएको छ । मङ्सिरको तुलनामा पुस महिनामा सोना मन्सुली चामलको मूल्य घटेको भए पनि वास्मती चामलको मूल्यमा वृद्धि भएको देखिएको छ । अन्य चामलका प्रकारमा भने सामान्य परिवर्तन मात्र देखिएको छ ।
दालको मूल्यमा केही वृद्धि भएको पाइएको छ भने गेडागुडीको मूल्यमा सामान्य परिवर्तन देखिएको छ । राज्मा सिमीको मूल्यमा भने मध्यम स्तरको उतारचढाव देखिएको अध्ययनले देखाएको छ ।
तरकारी तथा मसलाजन्य वस्तुको औसत मूल्यमा मध्यम उतारचढाव देखिएको छ । आलु, काउली र प्याजको मूल्यमा सामान्य परिवर्तन भए पनि अदुवा, गोलभेँडा, सुक्खा लसुन र सुक्खा खुर्सानीजस्ता वस्तुको मूल्यमा भने उल्लेखनीय उतारचढाव देखिएको छ ।
फलफूलतर्फ स्याउ, अनारलगायतको मूल्यमा असामान्य परिवर्तन देखिएको छ, जसको प्रभाव विभिन्न सहरमा समान रूपमा परेको अध्ययनले जनाएको छ । माछा, मासु र अण्डाको औसत मूल्यमा भने सामान्य परिवर्तन मात्र देखिएको छ ।
सहरगत रूपमा तुलना गर्दा खसी, ब्रोइलर कुखुरा, अण्डा र माछाको मूल्यमा सामान्यदेखि मध्यम तहसम्मको उतारचढाव देखिएको छ । समग्र बजार अवस्थाको विश्लेषण गर्दा अधिकांश फलफूल तथा तरकारीको मूल्यमा सामान्य परिवर्तन भए पनि घिउसिमी हाइब्रिड, परवर, काँक्रो हाइब्रिड, घिउसिमी तथा लोकल कुरिलो जस्ता तरकारीको मूल्यमा भने एक सय नौ प्रतिशतदेखि एक सय ६० प्रतिशतसम्म परिवर्तन देखिएको प्रतिवेदनमा उल्लेख छ ।
