शुक्रबार १६ माघ, २०८२

६ महिनामा ८ अर्ब बेरुजु फर्छ्योट

६ महिनामा ८ अर्ब बेरुजु फर्छ्योट

काठमाडौं । अर्थ मन्त्रालयले ६ महिना (साउन–पुस) मा ८ अर्ब रुपैयाँ हाराहारी बेरुजु फर्छ्योट गरेको छ । जुन अर्थको कुल बेरुजुको ६.४ प्रतिशतमात्र हो ।

अर्थ मन्त्रालयको बेरुजु रकम १ खर्ब २५ अर्ब रुपैयाँ बराबर छ । ६ महिनामा फर्छ्योट भएको ८ अर्बपछि अझै १ खर्ब १७ अर्ब  हाराहारी बेरुजु बाँकी रहेको मन्त्रालयको तथ्यांक छ ।

यस अवधिमा अर्थ मन्त्रालयले संगठन तथा व्यवस्थापन सवेक्षणको काम समेत सम्पन्न गरेको छ । जुन १७ कात्तिकमा मन्त्रिपरिषद्बाट स्वीकृत भएको थियो ।

सो सर्वेक्षणबाट ३ सय २३ जना कर्मचारीको दरबन्दी कटौती गरिएको छ । यसले सरकारको २२ करोड ५० लाख दायित्व बचत हुनेसमेत अर्थ मन्त्रालयले जनाएको छ ।

संगठन तथा व्यवस्थापन सर्वेक्षणको निर्णयबाट मध्यमस्तरीय कार्यालय २ वटा खारेजीमा परेका छन् । एक आन्तरिक राजस्व कार्यालय र ३६ करदाता सेवा कार्यालय खारेजीमा परेका छन् ।

यो अवधिमा अर्थ मन्त्रालयको दायित्वमा रहेका सवारीसाधनको पूर्ण बीमा गरिएको छ । जेनजी आन्दोलन क्रममा आगलागी र तोडफोडबाट काम नलाग्ने सवारीसाधन तथा अन्य भौतिक सम्पत्ति मिनाहा एवं पत्रु मूल्यमा बिक्री गर्नेसम्बन्धी प्रस्ताव पेस गर्ने गरी २ असोजमा मन्त्रिपरिषद्बाट स्वीकृत गरिएको थियो ।

अहिले त्यसको कार्यान्वयन भइरहेको मन्त्रालयले जनाएको छ । यो बीचमा मन्त्रालय परिसर मर्मत र रङरोगनको काम समेत भएको देखिएको छ ।