शुक्रबार १६ माघ, २०८२

वाणिज्य बैँकहरूमा झन् बढ्दै निष्क्रिय कर्जा

वाणिज्य बैँकहरूमा झन् बढ्दै निष्क्रिय कर्जा

काठमाडौं ।  कर्जा असुलीमा जोडसँगै आवश्यक परेको अवस्थामा एभग्रेनिङ  (ऋण तिर्न ऋण) गर्दा समेत पुस मसान्तमा वाणिज्य बैंकहरुको निष्क्रिय कर्जा अनुपात थप बढेको छ । वाणिज्य बैंकहरुले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणले निष्क्रिय कर्जा अनुपात थप बढेको देखाएको हो ।

पुस मसान्तसम्म आउँदा २० वाणिज्य बैंकको औसत निष्क्रिय कर्जा अनुपात ५.०५ प्रतिशत पुगेको छ । गत आवको पुस मसान्तसम्म यस्तो अनुपात ४.४९ प्रतिशत थियो । गत असोजसम्म भने वाणिज्य बैंकहरुको औसत निष्क्रिय कर्जा अनुपात ४.८५ प्रतिशत थियो । अहिले पुस मसान्तसम्म यो थप बढेको हो । 

बैंकहरुले कर्जा असुलीमा जोड दिइरहेको छन् । पुस मसान्तको समयमा कतिपय ऋणीलाई ऋण तिर्नका लागि छुट्टै व्यक्तिगत ऋण प्रदान अर्थात् एभरग्रनिङ गरिएको थियो । त्यसका बाबजुद पनि बैंकहरुको निष्क्रिय कर्जा अनुपात बढेको छ । 

निष्क्रिय कर्जा भनेको असुल हुन नसक्ने लगायतका कर्जा हुन् । बैठकहरूमा निष्क्रिय कर्जा अनुपात जति कम भयो, त्यति राम्रो हो । तर, पछिल्लो समय वाणिज्य बैंकहरुको निष्क्रिय कर्जा अनुपात बढ्दै गएको छ । 

विगतका सामान्य अवस्थामा बैंकहरूको निष्क्रिय कर्जा अनुपात एक–दुई प्रतिशत हारहारीमा हुने गरेको थियो । तर, पछिल्लो समय कायम आर्थिक शिथिलताले कर्जा असुल प्रभावित हुँदा अहिले त्यो बढ्दो छ । पछिल्लो पटक जेन–जी आन्दोलनका क्रममा निजी व्यवसायमा तोडफोड तथा आक्रमण हुँदा कतिपय ऋणी ऋण तिर्न नसक्ने अवस्थामा पनि पुगेको छ । मुलुकमा देखिएको राजनीतिक तथा आर्थिक अन्यौलताको कारण पनि ऋण असुली प्रभावित भइरहेको छ । 

निष्क्रिय कर्जा बढ्दा बैंकहरुको यसले बैंकहरूको समग्र वित्तीय अवस्थालाई समेत प्रभावित बनाइरहेको छ । निष्क्रिय कर्जा बापत बैंकहरुले प्रोभिजन समेत राख्नुपर्छ । त्यसले गर्दा बैंकहरुको नाफा र लाभांश क्षमता भने प्रभावित बनाइरहेको छ । 

यद्यपि, समीक्षा अवधिमा बैंकहरुको नाफा ११.५१ प्रतिशतले बढेर ३० अर्ब ५९ करोड पुगेको छ । गत आवको यसै अवधिमा उनीहरुको नाफा २७ अर्ब ४३ करोड नाफा कमाएका थिए । समीक्षा अवधिमा १२ बैँकको निष्क्रिय कर्जा अनुपात बढेको छ । आव वटा बैंकले भने निष्क्रिय कर्जा अनुपात घटाएका छन् । 

नौ बैंकमा निष्क्रिय कर्जा अनुपात पाँच प्रतिशत माथि, हिमालयन बैंकको सबै भन्दा धेरै, एभरेष्टमा कम 
तथ्यांक अनुसार नौ वाणिज्य बैंकमा निष्क्रिय कर्जा अनुपात पाँच प्रतिशत भन्दा बढी माथि पुगेको छ । त्यसमा पनि हिमालयन बैंकको निष्क्रिय कर्जा अनुपात सबै भन्दा धेरै देखिएको छ । उक्त बैंकको निष्क्रिय कर्जा अनुपात ७.९६ प्रतिशत पुगेको छ ।

धेरै निष्क्रिय कर्जा हुनेमा दोस्रो स्थानमा प्रभु बैंक देखिएको छ । उक्त बैंकमा ७.९४ प्रतिशत निष्क्रिय कर्जा अनुपात छ । तेस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकमा ७.९ प्रतिशत निष्क्रिय कर्जा अनुपात छ । 

यसैगरी एनआईसी एसियामा ७.४७ प्रतिशत, कुमारी बैंकमा ६.९२ प्रतिशत, सिटीजनमा ६.८६ प्रतिशत, प्राइम कर्मशियल बैंकमा ६.३८ प्रतिशत, लक्ष्मी सनराइनजमा ५.५ प्रतिशत र नेपाल बैंकमा ५.३४ प्रतिशत निष्क्रिय कर्जा अनुपात छ । 

यस्तै, ग्लोबल आईएमई बैंकमा ४.९१ प्रतिशत, कृषि विकास बैंकमा ४.६५ प्रतिशत, एनएमबी बैंकमा ४.५६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकमा ४.३६ प्रतिशत, नविल बैंकमा ४.२५ प्रतिशत र माछापुच्छ्रे बैंकमा ४.३६ प्रतिशत निष्क्रिय कर्जा अनुपात छ । 

यस्तै, सानिमा बैंकमा ३.६३ प्रतिशत, सिद्धार्थ बैंकमा ३.४५ प्रतिशत, नेपाल एसबीआई बैंकमा २.६४ प्रतिशत, स्ट्यान्डर्ड चार्डर्ड बैंकमा १.८८ प्रतिशत र एभरेष्ट बैंकमा ०.६८ प्रतिशत निष्क्रिय कर्जा छ ।