सेनाका कर्मचारीको बीमा गराइदिने भन्दै एक करोड ८२ लाख ठगी
काठमाडौँ । बीमा गराइदिने भन्दै करोडौं रकम ठगी भएको खुलासा भएको छ । नेपाली सेनाका सबै कर्मचारीको जीवन बीमा गराएदिने भन्दै धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५ कटुन्जेका राजकुमार श्रेष्ठले १ करोड ५० लाख ५० हजार रुपैयाँ ठगी गरेको पाइएको हो ।
गठी गरेको निवेदनपछि जिल्ला प्रहरी परिसर काठमाडौंले श्रेष्ठलाई पक्राउ गरी मुद्दा दर्ता गरेको छ। पक्राउ परेका श्रेष्ठले नेपाल लाइफ इन्स्योरेन्सका अभिकर्ता जीवनप्रसाद बाँस्तोलासँग उक्त ठगी गरेका थिए। उनले आफ्नो परिवारका सदस्य नेपाली सेनामा उच्च पदमा कार्यरत भएको र देशभरिका सेनाका कर्मचारीको बीमा गराइदिने आश्वासन दिएर ठगी गरेको बताइएको छ ।
ठगीका लागि उनले पटक–पटक रकम लिने गरेका थिए। रकम तिरेपछि सम्पर्कविहीन भएपछि बाँस्तोलाले सत्यतथ्य बुझ्न सेनामा गएका थिए। त्यहाँ उनी श्रेष्ठले देखाएका पत्रहरू नक्कली भएको खुलासा भयो।
श्रेष्ठले आफ्नो विश्वास जित्न रक्षा मन्त्रालय र नेपाली सेनाका उच्च अधिकारीहरू कृष्णबहादुर जिसी, गौरवकुमार केसी, प्रकाशराज थापा, सुनीलसिंह राठौर लगायतका हस्ताक्षर भएको जस्तो देखिने पत्रहरू बाँस्तोलालाई देखाएका थिए। त्यस क्रममा उनले रक्षा मन्त्रालयको छ वटा पत्र पनि बनाएका थिए।
प्रहरीले श्रेष्ठविरुद्ध ठगीसहित किर्ते दस्तावेज निर्माण गर्ने आरोपमा पनि मुद्दा चलाएको छ। अभियुक्त श्रेष्ठ सनातन शक्ति नेपाल नामक संस्थाका अध्यक्ष हुन्। बीमा अभिकर्ता बाँस्तोलासँग उनको चिनजान सो संस्थाका सचिव शिवराज गजुरेलमार्फत भएको थियो।
