काठमाडौँ–तराई ‘फास्ट ट्रयाक’ : कामको अवस्था कस्तो, कहिले बनी सक्छ ?
काठमाडौं– तराई फास्ट ट्र्याकको काम लगभग आधा सकिएको छ। नेपाली सेनाका अनुसार आयोजनाको भौतिक प्रगति ४५ प्रतिशत नाघेको छ।
काठमाडौंको खोकनाबाट बाराको निजगढ जोड्ने ७१ किलोमिटर फास्ट ट्र्याकमा झण्डै ११ किलोमिटर सुरूङ र लगभग १३ किलोमिटर पुल निर्माण हुँदैछ।
७ वटा ‘टुइन ट्युब’ सुरूङमध्ये दुई ठाउँको सुरूङ ब्रेकथ्रु गरिएको छ। अन्य सुरूङ मार्गहरूको काम भने जारी छ। सबभन्दा लामो साढे ३ किलोमिटरको महादेव डाँडा सुरूङ आउँदो असार मसान्तसम्म ब्रेकथ्रु गर्ने सेनाको तयारी छ। लेनडाँडा र धेद्रे सुरूङ ब्रेकथ्रुपछि भित्रका काम भइरहेका छन्।
फास्ट ट्र्याकको लेनडाँडा क्षेत्रमा सवारी साधन गुड्ने नेपालकै अग्लो पुल निर्माण अन्तिम चरणमा पुगेको छ।
चालिसे खोलातर्फको पुलको ढलान लगायतका काम सकिएको छ। त्यस्तै, जितपुर खोलामो काम लगभग सम्पन्न हुने चरणमा छ। त्यहाँ ८१ मिटर अग्लो पुल बनिरहेको छ।
‘परियोजनाको काम लगभग आधा भयो,’ फास्ट ट्र्याक आयोजनाका प्रमुख धर्मेन्द्र झाले सेतोपाटीसँग भने, ‘हामी २०८३ सालको चैत मसान्तभित्र फास्ट ट्र्याकको बाटोबाट सवारी साधन तराई पुर्याउने लक्ष्यका साथ काम गरिरहेका छौँ।’
तर फास्ट ट्र्याकको काठमाडौं तर्फको सुरूआत बिन्दु खोकनामा भने अझै काम सुरू हुन सकेको छैन। त्यहाँ जग्गाको मुआब्जा विवादका कारण निर्माण अघि बढ्न सकेको छैन। प्रधानमन्त्री सुशीला कार्कीले केही दिनअघि फास्ट ट्र्याकको काठमाडौं तर्फको सुरूआत बिन्दुको विवाद छिटोभन्दा छिटो हल गर्न निर्देशन दिएकी छन्। तर सुरूआती बिन्दु टुंगो नलाग्दा काठमाडौंतर्फको इन्टरचेन्ज र अन्य भौतिक संरचना निर्माण सुरू हुन सकेको छैन। निजगढ र मकवानपुरको बुदुनेमा भन्ने इन्टरचेन्जको काममा पनि प्रगती भएको छैन। तर पुल निर्माणको काम भने तीव्र ढंगले अघि बढेको छ।
तराईलाई काठमाडौंसँग जोड्ने यो द्रुतमार्गमा तराईमा २७ मिटर फराकिलो सडक निर्माण हुनेछ भने पहाडी क्षेत्रमा २५ मिटर फराकिलो सडक निर्माण हुनेछ। फास्ट ट्र्याकमा काठमाडौं, मकवानपुरको बुदुने र निजगढ बाहेक अन्य स्थानबाट प्रवेश गर्न पाइने छैन। मकवानपुरको बुदुनेमा फास्ट ट्र्याक मदन भण्डारी राजमार्गसँग जोडिने छ। आयोजनाले नै मदन भण्डारी राजमार्गसँग जोड्न एप्रोच रोड बनाउने छ।
फास्ट ट्र्याकको मकवानपुरको समथर क्षेत्र र बाराका समथर क्षेत्रमा भने सडकमा देखिने गरि काम भएको छ। त्यहाँ पुल निर्माण सम्पन्न भएसँगै सडकको प्रगति बढ्ने सेनाले जनाएको छ। फास्ट ट्र्याकमा खोकना तर्फको विवाद भने नेपाली सेनाका लागि टाउको दुखाइ बनेको छ। चोभारमा बनेको सुख्खा बन्दरगाहसम्म फास्ट ट्र्याक हुँदै आउने सवारी साधनलाई ल्याउने योजना सेनाको छ।
२०७४ सालको वैशाखमा फास्ट ट्र्याक निर्माणको जिम्मा पाएको थियो। तर डिपिआर निर्माण, कन्सल्ट्यान्ट छनोट र ठेक्का प्रक्रिया पूरा गर्न मात्र सेनालाई ४ वर्ष लाग्यो। जसका कारण २०७८ जेठ ३१ गतेबाट मात्र नेपाली सेनाले काम प्रारम्भ गर्यो। सेनाले विभिन्न प्याकेज छुट्याएर यो सडक निर्माणको ठेक्का लगाएको छ। अहिलेसम्म यो सडकको निर्माण आधा मात्र सकिएको छ।
