आइतबार १८ माघ, २०८२

डिजल र मट्टीतेलमा प्रतिलिटर रु ३ रुपैयाँ बढ्यो

डिजल र मट्टीतेलमा  प्रतिलिटर रु ३ रुपैयाँ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य समायोजन गरेको छ।

इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट माघ १७, २०८२ मा प्राप्त नयाँ खरिद मूल्यअनुसार डिजेल, पेट्रोल र एलपी ग्यासको लागत बढेर आएको भए पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै डिजेलमा प्रतिलिटर ३ रुपैयाँ मात्र वृद्धि गरिएको निगमले जनाएको छ।

निगमका अनुसार नयाँ मूल्य १ फेब्रुअरी २०२६ (माघ १८, २०८२) को बिहान ००:०१ बजेदेखि लागू हुनेछ। खरिद मूल्यमा डिजेल प्रतिलिटर ४ रुपैयाँ ६६ पैसा बढेर आएको भए पनि पूर्ण रूपमा समायोजन नगरिएको निगमको भनाइ छ।

नयाँ मूल्यअनुसार पहिलो वर्गका डिपो क्षेत्रमा डिजेल/मट्टितेल प्रतिलिटर १३६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १३८ रुपैयाँ र तेस्रो वर्गमा १३९ रुपैयाँ कायम गरिएको छ। यसअघि सोही वर्गमा क्रमशः १३३ रुपैयाँ ५० पैसा, १३५ रुपैयाँ र १३६ रुपैयाँ थियो।

हवाई इन्धनतर्फ आन्तरिक उडानका लागि प्रतिलिटर १ रुपैयाँ घटाइएको छ। अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौंमा प्रतिकिलो लिटर अमेरिकी डलर ७ ले मूल्य घटाइएको निगमले जनाएको छ।

पोखरा र भैरहवामा भने अन्तर्राष्ट्रिय हवाई इन्धन ब्रेक–इभेन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको छ।

एलपी ग्यासको खरिद मूल्य प्रतिसिलिन्डर ४५ रुपैयाँ ४९ पैसाले बढेर आए पनि हाललाई खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले स्पष्ट पारेको छ।

निगमका अनुसार डिपो वा कार्यालयदेखि १५ किलोमिटरसम्मका क्षेत्रलाई आधार मानी मूल्य निर्धारण गरिएको हो। पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्दछन्। दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल समावेश छन्।