आइतबार १८ माघ, २०८२

नेशनल लाइफले पोखरामा १८५ जना अभिकर्तालाई दियो तालीम

नेशनल लाइफले पोखरामा १८५ जना अभिकर्तालाई दियो तालीम

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना १८५ जना अभिकर्ताहरूलाई पोखरास्थित होटल मेजेष्टिक लेक फ्रन्टमा बीमा क्षेत्रका चर्चित प्रशिक्षक काजिम रजाद्वारा एक दिने तालीम तथा प्रशिक्षण दिएको छ।

कम्पनीले जारी गरेको मासिक योजना मन्थन २०८२ मा तोकिएको व्यवसाय गरी छनौट भएका गण्डकी प्रदेशका सबै शाखा कार्यालयहरू र लुम्बिनी तथा बागमती प्रदेशका केही शाखा कार्यलयहरूमा आबद्ध रही कार्य गर्ने १८५ जना अभिकर्ताहरूलाई उक्त प्रशिक्षण तथा तालीम दिइएको हो।

प्रशिक्षणको क्रममा रजाले एमडीआरटी, सिओटी र टिओटीको लक्ष्य प्राप्त गर्नका लागि विभिन्न उपायहरू अबलम्बन गरी फरक तरीकाले बजारमा प्रस्तुत हुने कलाको बारेमा प्रशिक्षण दिएका थिए।

कार्यक्रममा कम्पनीका उप–प्रमुख कार्यकरी अधिकृत स्मृती राज कंडेलले यस प्रकारको तालीमबाट अभिकर्ताहरूको मनोबल वृद्धि भई आफ्नो व्यावसायिक लक्ष्य हासिल गर्न मद्दत पुग्ने भएकोले कम्पनीले अभिकर्ताहरूलाई उत्कृष्ट तालीम दिने गरी प्रेरणा, प्रगति र पेशागत उत्कृष्टता भन्ने नारा सहित मासिक योजना मन्थन जारी गरिएको र यो योजनामा देशैभरबाट ७०० भन्दा बढी छनौट भएका सबै अभिकर्ताहरूलाई पायक पर्ने विभिन्न स्थानमा कार्यक्रम सञ्चालन गरिएको बताइन्। साथै उनले शाखा स्तरीय प्रथम द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरूलाई मायाको चिनो प्रदान गरेकी थिइन्।

कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशिल प्रताप राणाले अभिकर्ताहरूले उक्त तालीमबाट सिकेको ज्ञानलाई व्यवहारमा उतारी प्रतिस्पर्धात्मक बजारमा आफूलाई अब्बल साबित गरेर देखाउनेमा आफूले आपेक्षा गरिएको बताए। पोलिसी सर्भिसिङ विभाग प्रमुख सुस्मिता राणाले धन्यवाद ज्ञापन गरेकी थिइन्।

उक्त कार्यक्रममा सहभागी अभिकर्ताहरूले यस प्रकारको तालीमबाट आफूहरूको मनोबल उच्च भएको हुँदा आगामी दिनहरूमा बीमा व्यवसायमा अझ प्रगति गर्ने प्रेरणा मिलेको र सम्मान प्राप्त गर्दा आफ्नो मेहनतको कदर भएको महसूस गरिएको बताएका छन्।