सेयर बजार परिसूचक १९ अंकले घट्दा ९ अर्बको कारोबार
काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज सेयर बजार परिसूचक १९.८५ अंकले घटेर २६९४.२० विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा २०१ कम्पनीको सेयर मूल्य घटेको छ भने ५० कम्पनीको मात्रै बढेको छ । त्यस्तै आज ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि २.७६ अंकले घटेर ४५९.९१ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने एउटाको मात्रै बढेको छ ।
परिसूचक घटेको दिन कारोबार रकममा पनि गिरावट आएको छ । गत बिहीबार साढे १४ अर्ब माथिको कारोबार भएको बजारमा आज भने ९ अर्ब माथिको मात्रै कारोबार भएको छ ।
आज ३२९ कम्पनीका २ करोड २० लाख ६० हजार ४५४ कित्ता सेयर १ लाख १० हजार ७२८ पटक खरिद बिक्री हुँदा ९ अर्ब १० करोड ९४ लाख ५७ हजार २७८ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
