४०० केभी विद्युत प्रसारण लाइन निर्माण हुने यी १० जिल्लाका १४ सय हेक्टरमा कुनै संरचना बनाउन र रुख रोप्न नपाइने
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा अगाडि बढाएको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसिए–नेपाल) अन्तर्गत निर्माण हुन विद्युत प्रसारण लाइन निर्माण हुने क्षेत्रमा संरचना निर्माणमा रोक लागएको छ ।
विभिन्न १० जिल्लामा निर्माण हुने ४०० केभी विद्युत प्रसारण लाइनको दायाँ बाँयामा पर्ने स्थानमा संरचना निर्माण गर्न रोकेको हो । यी ठाउँमारुख रोप्न पनि पाइने छैन ।
मन्त्रिपरिषद्को निर्णय अनुसार विद्युत ऐन २०४९ को दफा ३३ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गर्दै नयाँ व्यवस्था लागू गरिएको हो । जसले प्रसारण लाइनको मार्गमा पर्ने जग्गाको प्रयोगमा निश्चित सीमा तोकेको छ ।
राजपत्रमा प्रकाशित सूचना अनुसार उच्च क्षमताको विद्युत प्रसारण लाइनको मध्यरेखाबाट दायाँ र बायाँ गरी २३–२३ मिटरको क्षेत्राधिकारभित्र कुनै पनि नयाँ भौतिक संरचना निर्माण गर्न र रुख रोप्न पाइने छैन ।
विभिन्न १० वटा जिल्लाका ४०० केभी विद्युत प्रसारण निर्माण हुने ठाउँमा रोक लगाएको हो । पूर्व र पश्चिम नवलपरासी, पाल्पा, तनहुँ, चितवन, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर र काठमाडौंमा ४०० केभी विद्युत प्रसारण निर्माण हुने छ ।
यी १० जिल्लामा पर्ने १ हजार ३८१ हेक्टर जग्गा विद्युत प्रसारण लाइनको विशेष सुरक्षा घेराभित्र रहनेछ । सरकारले विद्युत नियमावली २०५० को नियम ६६ को उपनियम १ बमोजिम सूचना निकालेको हो ।
