सोमबार १९ माघ, २०८२

कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालन

कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालन

काठमाडौं । कोहलपुर-सुर्खेत-दैलेख १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आइतबार लाइन सञ्चालन सुरु गरेका हुन् ।

आयोजना सञ्चालनपछि शाक्यले कर्णाली प्रदेशमै पहिलो पटक १३२ केभी प्रसारण लाइन चार्जमा ल्याउन सफल भएको बताउँदै यसबाट गुणस्तरीय विद्युत उपयोग गर्ने अवस्था सिर्जना भएको उल्लेख गरे ।

उनले यो आयोजनाको सञ्चालनसँगै कर्णालीमा ठूला उद्योगधन्दा सुरु हुने र उनीहरुले सबैभन्दा बढी विद्युत उद्योगमा खर्च गर्नेमा प्राधिकरण आशावादी रहेको पनि बताए ।

कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गतको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएको हो । यसले ओभरलोड हुने समस्या, छिनछिनमा बत्ती गइरहने समस्या र लो–भोल्टेजको समस्यामा सुधार आउने अपेक्षा गरिएको छ ।

यस क्षेत्रमा उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण ग्रिडमा प्रवाह गराउन पनि महत्वपूर्ण योगदान गर्ने प्राधिकरणको भनाइ छ ।

शाक्यले सबै फिडरहरु सुर्खेतको स्वचालित सव-स्टेशनबाटै आपूर्ति भएपछि उपयुक्त समय मिलाएर निर्वाचनपछि उद्घाटन गर्ने पनि जानकारी दिए ।

आयोजनाका प्रमुख रविकुमार चौधरीले जग्गाप्राप्ति, वन क्षेत्रको कटान र स्थानीय जग्गाधनीको विवादलगायतका कुराहरुलाई समाधान गर्दै आयोजना सफल बनाएको बताए ।

करिब ७५ करोडमा निर्माण भएको सव-स्टेशन तयारी अवस्था रहेको र करिब ६५ करोडमा निर्माण भएको प्रसारण लाइन पनि परीक्षणपछि सञ्चालनमा आएको उनले जानकारी दिए ।