एयरपोर्ट भन्सारमा अख्तियारको छापा, साढे २ लाख घुससहित दुई दर्जन मोवाइल बरामद
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तीन कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।
अख्तियारले एयरपोर्ट भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखाका भन्सार अधिकृत इन्द्र न्यौपाने, त्यहाँका कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी र सञ्चार मन्त्रालयको हुलाक सेवा विभागको पार्सल (निकासी) शाखाका नासु छविप्रसाद रिजाललाई घुस सहित पक्राउ गरेको हो ।
अख्तियारले पुडासैनीको टेबुलको घर्राबाट १० हजार, त्यही घर्रामा स्रोत नखुलेको ४० हजार अनि उनको साथबाट स्रोत नखुलेको ९६ हजार गरी कुल एक लाख ४६ हजार रुपैयाँ बरामद भएको जनाएको छ ।
अख्तियारले नासु रिजालको साथबाट २० हजार र स्रोत नखुलेको १८ हजार ८४८ गरी कुल ३८ हजार ८४८ रुपैयाँ बरामद गरेको थियो ।
अख्तियारका अनुसार घुस रकम र स्रोत नखुलेको समेत गरी कुल दुई लाख ६८ हजार रुपैयाँ र विभिन्न व्यक्तिका २३ वटा मोवाइलसमेत बरामद भएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
