मंगलबार २० माघ, २०८२

विदेशी विनिमय सञ्चिति २२ अर्ब डलर नाघ्यो, मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित

विदेशी विनिमय सञ्चिति २२ अर्ब डलर नाघ्यो, मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो छ महिना (पुस मसान्त) सम्मको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनले अधिकांश आर्थिक सूचक सकारात्मक रहेको र बाह्य क्षेत्रको अवस्था निकै सबल देखिएको जनाएको छ।

राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित रहेको छ।

समीक्षा अवधिसम्म कूल विदेशी विनिमय सञ्चिति ३२ खर्ब ४२ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ, जुन अमेरिकी डलरमा २२ अर्ब १७ करोड बराबर हो। यो सञ्चिति १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।

यस अवधिमा चालू खाता ४ खर्ब २९ अर्ब ९१ करोड रुपैयाँ र शोधनान्तर ५ खर्ब १ अर्ब २४ करोड रुपैयाँ बचतमा रहेको छ। विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३९.१ प्रतिशत र अमेरिकी डलरमा ३२.३ प्रतिशतले वृद्धि भएको छ। पुस महिनामा मात्रै १ खर्ब ९२ अर्ब ६२ करोड रुपैयाँ बराबरको विप्रेषण नेपाल भित्रिएको छ।

विदेश व्यापारतर्फ निर्यात ४३.८ प्रतिशतले वृद्धि भएको छ भने आयात १४.२ प्रतिशतले बढेको छ। त्यस्तै, समीक्षा अवधिमा नेपाल सरकारको कूल खर्च ६९० अर्ब २२ करोड रुपैयाँ पुगेको छ भने राजस्व परिचालन ५७७ अर्ब ४० करोड रुपैयाँ रहेको छ।