मंगलबार २० माघ, २०८२

नेपालमा एसएमइ वित्तीय पहुँच विस्तार गर्न विश्व बैंकको ९५ मिलियन डलर

नेपालमा एसएमइ वित्तीय पहुँच विस्तार गर्न विश्व बैंकको ९५ मिलियन डलर

काठमाडौं । विश्व बैंकले नेपालमा साना तथा मझौला उद्यम (एसएमइ) को वित्तीय पहुँच विस्तार र रोजगारी सिर्जनालाई प्रोत्साहन गर्न ९५ मिलियन अमेरिकी डलर बराबरको परियोजना स्वीकृत गरेको छ। यस परियोजनाबाट १ लाखभन्दा बढी उद्यमी लाभान्वित हुने अपेक्षा गरिएको छ।

विश्व बैंकका अनुसार परियोजनाले निक्षेप तथा कर्जा ग्यारेन्टी कोष (डिसिजिएफ) लाई सुदृढ बनाउँदै कर्जामा जोखिम साझेदारी विस्तार गर्नेछ। यसले विशेषगरी महिला नेतृत्वमा रहेका व्यवसाय तथा अन्य पहुँचबाट वञ्चित समूहलाई सहुलियतपूर्ण कर्जामा पहुँच बढाउने लक्ष्य राखेको छ।

परियोजना अन्तर्गत कर्जा ग्यारेन्टी प्रणाली सुधार गरिने, नयाँ ग्यारेन्टी उत्पादनहरू सुरु गरिने र कर्जा प्रवाहलाई थप सहज बनाइनेछ। यसबाट निजी क्षेत्रको विकास र रोजगारी सिर्जनामा सहयोग पुग्ने विश्व बैंकले जनाएको छ।

यसैगरी, नेपाल कर्जा सूचना केन्द्रको प्रविधि र संस्थागत क्षमता अभिवृद्धि गर्न पनि परियोजनाबाट लगानी गरिनेछ। कर्जा सम्बन्धी तथ्यांकको दायरा विस्तार, वैकल्पिक डेटा प्रयोग तथा डेटा सुरक्षा र गोपनीयता सुदृढ गर्ने काम गरिनेछ। विश्व बैंकले पर्याप्त धितोको अभाव र सीमित कर्जा इतिहासका लागि प्रमुख समस्या रहेको उल्लेख गर्दै परियोजनाले कर्जा जोखिम मूल्याङ्कन सुधार गर्न सहयोग गर्ने जनाएको छ।