मंगलबार २० माघ, २०८२

निजी क्षेत्रमा कर्जा प्रवाह : ५६ खर्ब ९५ अर्ब नाघ्यो, कुन क्षेत्रमा कति लगानी ?

निजी क्षेत्रमा कर्जा प्रवाह : ५६ खर्ब ९५ अर्ब नाघ्यो, कुन क्षेत्रमा कति लगानी ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो पाँच महिनाको विवरणअनुसार निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ३.६ प्रतिशत अर्थात् १९७ अर्ब ४७ करोड रुपैयाँले बढेको छ।

हाल बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा कुल ५६ खर्ब ९५ अर्ब १७ करोड रुपैयाँ कर्जा लगानी रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने यस्तो कर्जा २ खर्ब ६५ अर्ब ५६ करोड रुपैयाँले वृद्धि भएको थियो। वार्षिक विन्दुगत आधारमा २०८२ पुस मसान्तमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.७ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।

२०८२ पुस मसान्तमा निजी क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रको हिस्सा ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रको हिस्सा ३७.३ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी अंश क्रमशः ६४.२ प्रतिशत र ३५.८ प्रतिशत थिए।

समीक्षा अवधिमा वाणिज्य बैंकहरूको कर्जा प्रवाह ३.७ प्रतिशत, विकास बैंकहरूको २.९ प्रतिशत र वित्त कम्पनीहरूको १.२ प्रतिशतले बढेको देखिएको छ। केन्द्रीय बैंकका अनुसार पुस मसान्तमा कुल कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणमा आधारित कर्जा १५.० प्रतिशत र घरजग्गा धितोमा आधारित कर्जा ६३.९ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी अनुपात क्रमशः १४.५ प्रतिशत र ६४.९ प्रतिशत थिए।

आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा क्षेत्रगत आधारमा हेर्दा उपभोग्य क्षेत्रतर्फको कर्जा ९.१ प्रतिशत, निर्माण क्षेत्रमा ७.२ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रमा ६.२ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रमा ४.४ प्रतिशत, वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रमा १.१ प्रतिशत र सेवा उद्योग क्षेत्रमा ०.९ प्रतिशतले वृद्धि भएको छ। यस अवधिमा कृषि क्षेत्रतर्फको कर्जा भने १.१ प्रतिशतले घटेको छ।

त्यसैगरी कर्जाको प्रकृतिअनुसार मार्जिन कर्जा ८.३ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा ७.८ प्रतिशत, हायर पर्चेज कर्जा ७.३ प्रतिशत, क्यास क्रेडिट कर्जा ३.० प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा २.९ प्रतिशत, रियल स्टेट कर्जा २.५ प्रतिशत र आवधिक कर्जा २.४ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ३.३ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ।