मंगलबार २० माघ, २०८२

साना तथा मझौला व्यवसाय उकास्न विश्व बैंकको साढे १२ अर्ब सहयोग

साना तथा मझौला व्यवसाय उकास्न विश्व बैंकको साढे १२ अर्ब सहयोग

काठमाडौं । विश्व बैंकले नेपालका साना तथा मझौला उद्यमको वित्तीय पहुँच विस्तार गर्न ९ करोड ५० लाख अमेरिकी डलर (करिब १२ अर्ब ६० करोड रुपैयाँ) सहयोग दिने भएको छ ।

बैंकले १ लाखभन्दा बढी साना तथा मझौला व्यवसायी लाभान्वित हुने र नेपालमा रोजगारी केन्द्रित आर्थिक वृद्धिलाई सहयोग गर्न उक्त रकम दिने भएको हो ।

विश्व बैंकको ‘दिगो र समावेशी वित्त परियोजना’ अन्तर्गत प्राप्त हुने यो रकम नेपालको निक्षेप तथा कर्जा सुरक्षण कोषलाई सुदृढ बनाउन खर्च गरिने छ । यसले जोखिम बाँडफाँट गर्ने क्षमता बढाउनुका साथै वित्तीय दिगोपन सुनिश्चित गर्ने बैंकले जनाएको छ ।

‘वित्तीय पहुँचमा सहजता र कारोबारका अवरोध कम गरेर यो अपरेसनले वित्तीय समावेशीकरणलाई व्यापक बनाउने छ,’ परियोजनाबारे जानकारी दिँदै माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका कन्ट्री डिभिजन डाइरेक्टर डेभिड सिसलेनले भने, ‘यसले साना तथा मझौला उद्योगहरूलाई क्षेत्रीय र विश्वव्यापी मूल्य शृङ्खलामा एकीकृत गर्न र निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्न मद्दत पुर्‍याउने छ ।’

यो परियोजना सन् २०२४ मा सम्पन्न भएको ‘वित्तीय क्षेत्र स्थायित्व र वृद्धिका लागि वित्त विकास नीति ऋण’ शृङ्खलाका सुधारहरूमा आधारित छ । यसले नेपाल सरकारको हालै स्वीकृत दोस्रो वित्तीय क्षेत्र विकास रणनीतिसँग पनि तादात्म्य राख्छ ।

परियोजनाले कर्जा सूचना केन्द्रको प्रविधि र संस्थागत क्षमतामा पनि लगानी गर्ने छ । यसबाट डेटा कभरेज विस्तार गर्न, वैकल्पिक डेटा स्रोत एकीकृत गर्न र डेटा सुरक्षा तथा गोपनीयतालाई थप मजबुत बनाउन सहयोग पुग्ने छ । यस कार्यमा अन्तर्राष्ट्रिय वित्त निगमले पनि सहयोग गरिरहेको छ ।

विश्व बैंकका वरिष्ठ वित्तीय क्षेत्र विशेषज्ञ एवं परियोजनाका टोली नेता साबिनराज श्रेष्ठका अनुसार पर्याप्त धितो अभाव र सीमित कर्जा इतिहासका कारण साना व्यवसायीले न्यून लागतमा वित्त सेवा पाउन सकिरहेका छैनन् ।

केन्द्रको व्यवस्थापन सूचना प्रणाली अपग्रेड गरेर, दाबी भुक्तानी प्रक्रिया प्रभावकारी बनाएर र जोखिममा आधारित मूल्य निर्धारण प्रणाली लागु गरेर थप शक्तिशाली बनाइने उनले बताए ।