मंगलबार २० माघ, २०८२

चितवनमा ‘अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२’ हुने

चितवनमा ‘अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२’ हुने

काठमाडौं । डेरी उद्योग प्रवर्द्धन, प्रविधि हस्तान्तरण तथा उत्पादकदेखि उपभोक्तासम्मको सम्बन्ध सुदृढ गर्ने उद्देश्यले चितवनमा ‘अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२’ आयोजना हुने भएको छ ।

भरतपुरस्थित प्रदर्शनी केन्द्रमा २५ देखि २९ माघसम्म यो बृहत् प्रदर्शनी सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको आयोजनामा हुन लागेको एक्स्पोबारे पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो।

संघ अध्यक्ष किशोर बगालेले डेरी क्षेत्र ग्रामीण अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै किसानलाई आधुनिक प्रविधिसँग जोड्न र उत्पादनको गुणस्तर सुधार्न एक्स्पो कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

एक्स्पोमा दुग्ध उत्पादन, प्रशोधन, भण्डारण, प्याकेजिङ र गुणस्तर परीक्षणका अत्याधुनिक उपकरण प्रदर्शनी गरिने छ। साथै, पशु स्वास्थ्य, व्यवस्थापन र उन्नत नश्लका गाई तथा भैँसीको विशेष प्रदर्शनी समेत रहने छ ।

एक्स्पो अवधिभरि साना तथा मझौला किसान र उद्योगीका लागि लक्षित विभिन्न तालिम, कार्यशाला, अन्तर्क्रिया र अनुभव आदान–प्रदानका कार्यक्रम सञ्चालन गरिने छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवले डेरी एक्स्पोले नेपालको दुग्ध उद्योगलाई नयाँ उचाइमा पुर्‍याउने बताए ।

‘नीति, प्रविधि र लगानीबीचको समन्वयले मात्रै दुग्ध क्षेत्रको दीर्घकालीन समाधान निस्कन्छ,’ उनले भने, ‘यो मेलाले ती सबै पक्षलाई एउटै थलोमा ल्याउने छ ।’

त्यसैगरी केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ लिमिटेड अध्यक्ष अम्मरबहादुर कुँवरले यसलाई ‘किसानमुखी कार्यक्रम’ को संज्ञा दिए । उनका अनुसार देशभरिका सहकारी, नीति निर्माता र उपभोक्ताबीच प्रत्यक्ष संवाद गराउनु यसको मुख्य लक्ष्य हो ।

एक्स्पो क्रममा डेरी फुड फेस्टिभल, दुग्ध क्षेत्रका वर्तमान चुनौतीबारे छलफल, हाजिरीजवाफ प्रतियोगिता र उत्कृष्ट दुग्ध उत्पादक सहकारीलाई सम्मान गर्ने कार्यक्रम समेत तय गरिएको छ ।

सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको यस अन्तर्राष्ट्रिय एक्स्पोमा उद्यमी, लगानीकर्ता, अनुसन्धानकर्ता, सरकारी अधिकारी र आमउपभोक्ताको उल्लेख्य सहभागिता रहने अनुमान छ ।