सामाजिक सुरक्षा कोषमा १ खर्ब ३२ अर्ब रुपैयाँ, ६ वर्ष ७ महिनामा १०१ अर्बभन्दा बढी योगदान
काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा एक खर्ब रुपियाँभन्दा बढी रकम सङ्कलन भएको छ। राष्ट्रिय कल्याणकारी कोषसमेत जोड्दा कोषमा जम्मा रकम एक खर्ब ३२ अर्ब रुपियाँ पुगेको छ।
सामाजिक सुरक्षा कोषले सोमबार जारी गरेको विज्ञप्तिअनुसार योजना कार्यान्वयन सुरु भएको ६ वर्ष ७ महिनाको अवधिमा कुल १०१ अर्ब २८ करोड रुपियाँ योगदान सङ्कलन भएको हो।
कोषका अनुसार औपचारिक क्षेत्रका ६ लाख ७१ हजार श्रमिक, वैदेशिक रोजगारीमा गएका करिब २० लाख व्यक्ति तथा अनौपचारिक र स्वरोजगार क्षेत्रमा आबद्ध करिब १ हजार ६ सय श्रमिक तथा व्यक्तिबाट उक्त रकम सङ्कलन गरिएको हो।
कोषका सूचना अधिकारी डा. रोशन कोजूका अनुसार कोषका विभिन्न योजनाअन्तर्गत दाबी भुक्तानी, अवकाश भुक्तानी तथा पेन्सनसमेत गरी हालसम्म करिब १८ अर्ब ५० करोड रुपियाँ भुक्तानी भइसकेको छ।
यसैबीच, कोषले योगदानकर्ताको मागअनुसार सामाजिक सुरक्षा कोष लगानी कार्यविधि, २०७७ को पहिलो संशोधन गरेको छ। संशोधित व्यवस्थाअनुसार अब विशेष सापटी लिनका लागि न्यूनतम १२ महिना र धितोमा आधारित सापटीका लागि १८ महिना योगदान गरेका योगदानकर्ताले पनि सापटी सुविधा लिन सक्नेछन्। यसअघि सापटी लिन कम्तीमा ३६ महिना योगदान अनिवार्य थियो।
कोषले औपचारिक क्षेत्रबाट सुरु गरेको सामाजिक सुरक्षा योजना विस्तार गर्दै अनौपचारिक क्षेत्र, वैदेशिक रोजगारी तथा स्वरोजगार क्षेत्रमा पनि कार्यान्वयन गर्दै आएको छ। चालु वर्षको वैशाख १ गतेदेखि सरकारी कोषबाट तलब–भत्ता खाने कर्मचारीलाई समेत सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने व्यवस्था लागू गरिएको छ।
यस अवधिसम्म ९१ वटा स्थानीय तह र ३८ सार्वजनिक निकायले आफ्ना कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइसकेको कोषले जनाएको छ।
