बुधबार २१ माघ, २०८२

निर्वाचनमा मुस्ताङमा हिमपातको डर, यस्तो सरकारको तयारी

निर्वाचनमा मुस्ताङमा हिमपातको डर, यस्तो सरकारको तयारी

काठमाडौं । आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा ३९ वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्लाका पाँच स्थानीय तहका सबै मतदान केन्द्र तथा मतदान स्थल सुरक्षा दृष्टिकोणले सामान्य रहेको छ ।

मुस्ताङमा निर्वाचनका लागि सबै मतदान केन्द्र तथा मतदानस्थलमा सुरक्षा चुनौती सामान्य रहे पनि हिमपातले मतदान कार्यक्रमलाई असर पुर्याउन सक्ने आँकलन गरिएको छ । हिमपात भएको अवस्थामा मतदाता गन्तव्यमा पुगेर मतदान गर्न असहज हुने भएकाले त्यसको पूर्वतयारी पनि थालिएको छ ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-५ स्थित साङ्ता मतदान केन्द्र जाने मुस्ताङ-डोल्पा सडकमा बाक्लो हिउँ जमेका कारण एक महिना अघिदेखि सडकमा यातायात सेवा अवरुद्ध छ । मुस्ताङमा फागुन/चैत महिनामा हिमपात भएको विगतका अनुभवहरू छन् । हिमपात भएमा मतदाता र मतदानमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीलाई समस्या सृजना हुनसक्ने प्रमुख जिल्ला अधिकारी अजिता शर्माले बताइन् ।

निर्वाचन कार्यतालिका अनुसार मतदानको केही दिन अगाडि साङ्ता मतदान केन्द्रमा जाने सडकको हिउँ डोजर परिचालन गरी पन्छ्याएर सडक सहज बनाउने योजनामा रहेको प्रजीअ शर्माको भनाइ छ । यसपालि जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा लोमान्थाङ गाउँपालिका-२ समजुङ मतदानस्थललाई सोही वडाको छोसेरस्थित दिव्यदीप माध्यमिक विद्यालय छोसेरमा गाँभिएको छ ।

यसैगरी लोघेकर दामोदरकुण्ड-ताङ्ग्याका मतदाताहरू सहजताका लागि थप अर्को एक मतदानस्थल थपिएको छ । हाल थासाङ गाउँपालिकामा-८ वटा, घरपझोङ गाउँपालिकामा-६ वटा, लोघेकर दामोदरकुण्डमा-१० वटा, वारागुङ मुक्तिक्षेत्रमा-९ वटा र लोमान्थाङ गाउँपालिकामा छ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम गरिएको छ ।

मुस्ताङका प्रजीअ शर्माका अनुसार मुस्ताङका सबै मतदान केन्द्रमा सडकको पहुँच, विद्युत्, टेलिफोन र इन्टरनेटको सुविधा छ । मुस्ताङमा ११ हजार ३२८ जना मतदाता छन् । जसमध्ये पुरुष ५ हजार ५५९ जना, महिला ५ हजार ७६८ र अन्य १ जना मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिए । 

मुस्ताङको घरपझोङमा २ हजार ४९२, थासाङमा २ हजार ९०८, लोघेकर दामोदर कुण्डमा १ हजार ५४२, बारागुङ मुक्तिक्षेत्रमा २ हजार ३७६ र लोमान्थाङ गाउँपालिकामा २ हजार ११ जना मतदाता छन् । निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीबाट २६६ जना र सशस्त्र प्रहरी बल नेपालबाट ४६ जना निर्वाचन प्रहरी छनौट गरी निर्वाचन प्रहरीका लागि अनुशिक्षण तालिम आइतबारदेखि सञ्चालन भइसकेको छ ।

निर्वाचनका नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, रास्वपा, उज्यालो नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, मङ्गोल नेशनल अर्गानाइजेशन र आमजनता पार्टीले उम्मेदवारी दर्ता गराएका छन् ।