पुसमा राजस्व कार्यालय जनकपुरको राजस्व संकलन ७३ करोड ३१ लाख
जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरले चालु आर्थिक वर्ष २०८२/८३ को पुस महिनामा तोकिएको लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ ।
कार्यालयको तथ्यांक अनुसार पुस महिनाका लागि ६२ करोड ९७ लाख राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा ७३ करोड ३१ लाख संकलन भएको हो । जुन लक्ष्यको ११७ प्रतिशत रहेको राजश्व कार्यालयका प्रमुख कर अधिकृत आनन्दकुमार गुप्ताले जानकारी दिए ।
उनका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म जम्मा २ अर्ब ६१ करोड २५ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा हालसम्म २ अर्ब ३३ करोड ३७ लाख रुपैयाँ अर्थात करिब ९० प्रतिशत राजस्व संकलन भएको हो ।
गत आर्थिक वर्ष २०८१/०८२ को पुस मसान्तसम्म २ अर्ब १३ करोड २६ लाख रुपैयाँ राजस्व संकलन भएकोमा यस वर्ष २२ करोड रुपैयाँले वृद्धि भएको हो ।
गत वर्षको तुलनामा यस आर्थिक वर्षमा कार्यालयको कार्यक्षेत्र धनुषा जिल्ला र महोतरीका केही पालिकामा मात्र सीमित रहे पनि राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको उनले बताए ।
गत आर्थिक वर्षमा कार्यालयको कार्यक्षेत्र धनुषा, महोतरी, सर्लाही र सिन्धुलीसम्म थियो । तर, चालु आर्थिक वर्षको साउनदेखि करदाता सेवा कार्यालय बर्दिबास आन्तरिक राजस्व कार्यालयमा स्तरोन्नति भएपछि कार्यक्षेत्र घटाइएको हो ।
प्रमुख कर अधिकृत गुप्ताका अनुसार आर्थिक ऐन २०८२ ले व्यवस्था गरेका छुट तथा सुविधाको व्यापक प्रचार–प्रसार, करदातासँग नियमित सम्पर्क, बक्यौता रकम असुलीमा कडाइ, बजार अनुगमन, करको दायरा विस्तार र कर शिक्षा कार्यक्रमले राजस्व संकलनमा सकारात्मक प्रभाव पारेको छ ।
जेनजी आन्दोलनपछि आर्थिक गतिविधि बढेसँगै राजस्व संकलनमा समेत वृद्धि भएको उनले बताए ।
