बुधबार २१ माघ, २०८२

सामाजिक सुरक्षा कोषले गरायो सुरक्षाको प्रत्याभूति, अदालतको आदेशपछि उमादेवीले पाइन् २० लाख ४३ हजारको चेक

सामाजिक सुरक्षा कोषले गरायो सुरक्षाको प्रत्याभूति, अदालतको आदेशपछि उमादेवीले पाइन् २० लाख ४३ हजारको चेक

काठमाडौँ । सामाजिक सुरक्षा कोषले योगदानकर्ता उमादेवीलाई २० लाख ४३ हजारको चेक हस्तान्तरण गरेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ बमोजिम अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा आवद्ध भई योगदान नगरेको कारण श्रमिकको मृत्यु भएपछि त्यसको सम्पूर्ण दायित्व रोजगारदाताकै हुने भनी सर्वोच्च अदालतले ठहर गरेसँगै उमादेवीले उक्त रकम प्राप्त गरेकी हुन् ।

मृतक योगदानकर्ता रामानन्द शाहको परिवारले सामाजिक सुरक्षा कोषमा निवेदन दिएपछि कोषले कानून बमोजिम रोजगारदातालाई रु २० लाख ४३ हजार ६ सय ४५ उपलब्ध गराउन आदेश दिएको थियो। सो आदेशविरुद्ध रोजगारदाता प्रतिष्ठान उच्च अदालत गएकोमा उच्च अदालतले पनि सामाजिक सुरक्षा कोषको आदेशलाई सदर गरेको थियो।

उक्त फैसलाविरुद्ध रोजगारदाता प्रतिष्ठान पुनः सर्वोच्च अदालतमा दोहोर्‍याई पाउँका लागि पुगे पनि सर्वोच्च अदालतले निश्सा नदिई उच्च अदालतको फैसला नै सदर गरेको हो। सर्वोच्चले सामाजिक सुरक्षा ऐन अनुसार श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित गर्न नियमित योगदान अनिवार्य रहेको र योगदान नगरेको अवस्थामा ऐनले व्यवस्था गरेअनुसार रोजगारदाताले सम्पूर्ण दायित्व व्यहोर्नुपर्ने स्पष्ट गरेको छ।