बिहीबार २२ माघ, २०८२

काठमाडौंबाट प्रहरीले गोली हानेर समात्यो चोरीका आरोपी, ६५ तोला सुन बरामद

काठमाडौंबाट प्रहरीले गोली हानेर समात्यो चोरीका आरोपी, ६५ तोला सुन बरामद

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–६ महाँकालबाट प्रहरीले गोली हानेर ६५ तोला सुनसहित एक जना व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके घर भएका प्रेम चौधरी छन् ।

काठमाडौंका विभिन्न स्थानमा भएका श्रृंखलाबद्ध चोरीका घटनाबारे अनुसन्धान गरिरहेको प्रहरी चौधरीलाई पछ्याउँदै गएराति विशेष सूचनाको आधारमा नागार्जुन नगरपालिका क्षेत्रमा पुगेको थियो ।

गएराति करिब साढे ११ बजे चौधरीलाई नियन्त्रणमा लिन खोज्दा उल्टै प्रहरीमाथि आक्रमण भएपछि गोली चलाएर नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका एसएसपी रमेश थापाले जानकारी दिए ।

त्यसक्रममा एक जना प्रहरी हबल्दार पनि सामान्य घाइते भएका प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईका अनुसार पक्राउ परेका चौधरीको खुट्टामा गोली लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

चौधरीको साथबाट ६५ तोला सुन, केही चाँदी, नगद र घरेलु हतियार समेत बरामद भएको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता भट्टराईका अनुसार पक्राउ परेका चौधरी काठमाडौं उपत्यकामा भएका श्रृंखलाबद्ध चोरीका घटनाका आरोपी हुन् ।

यसैहप्ता भोटेबहालमा २५ तोला जति सुन चोरी भएको थियो । गत मंगलबार बौद्ध टुसालमा एक घरबाट एक करोडभन्दा बढीको गरगहना चोरी भएको थियो ।

कालिमाटी र ललितपुरका केही स्थानमा पनि नगद र गरगहना चोरीका घटना भएका थिए ।