आएमई लाइफको दोस्रो त्रैमासिक वित्तीय विवरण : नाफा र प्रतिशेयर आम्दानी दुवै बढ्यो
काठमाडौं । आएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा र प्रतिशेयर आम्दानी दुवैमा सुधार गरेको छ ।
गत आवको साउनदेखि पुससम्म कम्पनीले २६ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवको सोही अवधिमा नाफा १.०४ प्रतिशतले बढेर २७ करोड ६ लाख रुपैयाँ पुगेको छ ।
यस अवधिमा खुद बीमाशुल्क आर्जन ३६.४५ प्रतिशतले वृद्धि भई ३ अर्ब १९ करोड २१ लाख रुपैयाँ पुगेको छ भने लगानी तथा कर्जाबाट प्राप्त ब्याज आम्दानी ७ प्रतिशतले बढेर ७१ करोड ५५ लाख रुपैयाँ नाघेको छ ।
कम्पनीको कुल आम्दानी २७.५९ प्रतिशतले बढेर ४ अर्ब १ करोड ४५ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च ३० प्रतिशतले वृद्धि भई ३ अर्ब ७४ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।
व्यवसाय विस्तारसँगै अभिकर्ता कमिशन खर्च २९ प्रतिशतले बढेर २८ करोड ४२ लाख रुपैयाँ पुगेको छ भने कर्मचारी तलब तथा सुविधामा खर्च पनि बढेर २२ करोड ७१ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोष ४१.२७ प्रतिशतले वृद्धि भई करिब १५ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । ५ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको कुल सम्पत्ति बढेर २३ अर्ब ३ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।
