व्यवसाय विस्तारसँगै आएमई लाइफको आम्दानी ४ अर्ब नाघ्यो
काठमाडौं । आएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव) २०८२/०८३ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सो अनुसार गत आवको ६ महीनाको तुलनामा चालू आवको ६ महीनामा नाफासँगै प्रतिशेयर आम्दानीमा बढेको हो।
गत आवको ६ महीना अर्थात् साउनदेखि पुस मसान्तसम्म कम्पनीले २६ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएकोमा त्यसको तुलनामा चालू आवको सोही अवधिमा १.०४ प्रतिशतले वृद्धि भई २७ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको वित्तीय विवरणले देखाएको छ।
समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन २ अर्ब ३३ करोड ९३ लाख रुपैयाँबाट ३६.४५ प्रतिशतले बढेर ३ अर्ब १९ करोड २१ लाख रुपैयाँ पुगेको छ भने लगानी तथा कर्जाबाट प्राप्त हुने ब्याज ६६ करोड ८८ लाख रुपैयाँबाट ७ प्रतिशतले बढेर ७१ करोड ५५ लाख रुपैयाँ नाघेको छ।
त्यस्तै समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ३ अर्ब १४ करोड ६५ लाख रुपैयाँबाट २७.५९ प्रतिशतले बढेर ४ अर्ब १ करोड ४५ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च २ अर्ब ८७ करोड ८७ लाख रुपैयाँबाट ३० प्रतिशतले बढेर ३ अर्ब ७४ करोड ३९ लाख रुपैयाँ पुगेको छ।
त्यसैगरी कम्पनीले व्यवसाय विस्तारका लागि अभिकर्तालाई दिइएको कमिशन बापतको रकम २२ करोड २ लाख रुपैयाँबाट २९ प्रतिशतले बढाएर २८ करोड ४२ लाख रुपैयाँ पुर्याएको छ भने कर्मचारीको तलबभत्ता र सेवासुविधामा खर्चिएको रकम पनि १९ करोड ७८ लाख रुपैयाँबाट बढाएर २२ करोड ७१ लाख रुपैयाँ पुर्याएको तथ्यांकले देखाएको छ।
समीक्षा अवधिमा कम्पनीको जीवन बीमाकोषको आकार १० अर्ब ८७ करोड २६ लाख रुपैयाँबाट ४१.२७ प्रतिशतले बढेर १५ अर्ब ३६ करोड नजिक पुगेको छ। चुक्ता पूँजी ५ अर्ब रुपैयाँ रहेको कम्पनीको शेयर प्रिमियम ५२ करोड ३८ लाख रुपैयाँ, महाविपत्ति कोषमा २९ करोड रुपैयाँ र जगेडा कोषमा ४३ करोड ४२ लाख रुपैयाँ सञ्चित रहेको छ। कम्पनीको कुल सम्पत्ति २१ अर्ब २३ करोड ३९ लाख रुपैयाँबाट बढेर २३ अर्ब ३ करोड ८५ लाख रुपैयाँ नाघेको छ।
