शोकमा बैतडी : १३ जन्तीको मृत्युपछि पुर्चौडी नगरपालिकामा आज शोक बिदा
बैतडी। बैतडीको पुर्चौडी नगरपालिकाले गएराति भएको बस दुर्घटनामा १३ जनाको ज्यान गएको शोकमा आज (शुक्रबार) सार्वजनिक बिदा दिएको छ।
नगरपालिकाले एक शोक विज्ञप्ति जारी गर्दै नगर क्षेत्रभित्रका सबै सरकारी कार्यालय, शिक्षण संस्था र निजी निकायहरूमा बिदा दिने निर्णय गरेको हो।
बिहीबार राति करिब ८ बजे पुर्चौडी नगरपालिका–७, भौनीबाट बेहुली लिएर बझाङतर्फ फर्किँदै गरेको सुपप्र ०२ ००१ ख १११९ नम्बरको पवनदूत यातायातको बस सोही वडाको बढ्गाउँ मोडमा दुर्घटनाग्रस्त भएको थियो।
नगरपालिकाको निर्णय र संवेदनाः नगरपालिकाले जारी गरेको सूचनामा यो अकल्पनीय घटनाले सिङ्गो नगरबासीलाई स्तब्ध बनाएको उल्लेख छ। अकल्पनीय सडक दुर्घटनामा परी ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकको यस घडीमा नगरपालिकाभर बिदा दिइएको छ, विज्ञप्तिमा भनिएको छ।
सडकबाट करिब २०० मिटर तल खसेर भएको दुर्घटनाले म्याग्दी र बैतडीका सीमावर्ती क्षेत्रका बासिन्दालाई मर्माहत बनाएको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ।
