कुन कसुरमा पक्राउ परे दुर्गा प्रसाईं ?
काठमाडौँ । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्। प्रहरी हिरासतबाट छुटेको तीन साता नबित्दै उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले नियन्त्रणमा लिएको हो।
शुक्रबार काठमाडौँको चाल्नाखेलबाट पक्राउ परेका प्रसाईं वीरगञ्जमा आयोजना हुने विरोध कार्यक्रममा सहभागी हुन जाँदै थिए। यसअघि उनी माघ ५ गते पोखराबाट पक्राउ परेका थिए भने भोलिपल्ट हाजिरी जमानीमा रिहा भएका थिए।
साइबर ब्युरोका डीआईजी अभिनारायण काफ्लेका अनुसार निर्वाचन आयोगको पत्रका आधारमा प्रसाईंलाई साइबर अपराध अन्तर्गत पक्राउ गरिएको हो। आयोगले वीरगञ्जमा हुन लागेको कार्यक्रमले निर्वाचन व्यवस्थापनमा अवरोध पुग्ने भन्दै कारबाहीका लागि आग्रह गरेको थियो।
प्रसाईं प्रतिनिधि सभा निर्वाचन रोक्नुपर्ने मागसहित आन्दोलन गर्दै आएका छन्। यसअघि माघ २ गते सरकारसँग भएको वार्तामा उनले निर्वाचन विरोधी गतिविधि नगर्ने सहमति जनाएका थिए।
