शहीद गंगालालमा स्वास्थ्य बीमा सेवा ठप्प : छट्पटाउँदै मुटुरोगी
काठमाडौं । काठमाडौं बाँसवारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले स्वास्थ्य बीमाबाट दिने सेवा पूर्ण रुपमा रोकेको छ । केन्द्रका सूचना अधिकारी सुदीपचन्द्र दाहालले गएको सोमबारबाट अस्पतालले पूर्ण रुपमा स्वास्थ्य बीमा रोकेको बिजपाटीलाई जानकारी दिए । उनका अनुसार सरकारले स्वास्थ्य बीमा र विपन्न सेवा गरी ४५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।
स्वास्थ्य बीमा रोकिँदा दुर्गम गाउँगाउँबाट आएका विपन्न नागरिक समस्यामा परेका छन् । बीमा रकम नपाएको भन्दै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले यसअघि नै स्वास्थ्य बीमा कार्यक्रम ठप्प पारेको छ ।
यसैबीच सरकारले बहिरंग (ओपीडी) सेवाको प्रयोगलाई मितव्ययी र व्यवस्थित बनाउन भन्दै ५ जनासम्मको परिवारका लागि वार्षिक २५ हजार रुपैयाँ तोकेको छ । प्रत्येक थप सदस्यका लागि ५ हजार रुपैयाँको सीमा तोकिएको हो । परिवारले पाउने बाँकी रकम भने ओपीडी र आकस्मिक स्वास्थ्य सेवामार्फत पहिलोको जस्तै उपयोग गर्न सकिने जनाइएको छ ।
यो निर्णय विशेषगरी अनावश्यक र दोहोरो सेवा प्रयोग रोक्न तथा गम्भीर एवं जटिल प्रकृतिका रोगको उपचारका लागि स्रोत सुरक्षित राख्ने उद्देश्यले गरिएको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । बोर्डले स्वास्थ्य बीमा बोर्डले बीमा सुविधाको उपचार खर्च कटौती गरिएको भन्ने खबर भ्रामक भएको जनाएको छ ।
यता प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाएकी छन् । सिंहदरबारमा स्वास्थ्य बीमामा देखिएको समस्याबारे सरोकारवाला निकायसँगको छलफलमा प्रधानमन्त्री कार्कीले विभिन्न विकल्पबाट भएपनि आर्थिक स्रोत जुटाइ स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाएकी हुन् ।
उनले वर्तमान सरकारको अवधि छाटो रहेकाले स्वास्थ्य लगायतका कतिपय क्षेत्रमा समयमा नै सुधार गर्न नसकेको बताइन् । सरकारले स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेर नागरिकलाई सेवा दिन नसके त्यसको जवाफदेही सरकार नै हुने भन्दै प्रधानमन्त्री कार्कीले अर्थमन्त्रीसँग छलफल गरेर स्रोत सुनिश्चितता गरिने धारणा राखिन् ।
बिना तयारी राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्दा नै धेरै कमी कमजोरीहरु देखिएको उनले बताइन् । प्रधानमन्त्री कार्कीले एकद्वार प्रणाली लागू गरेर स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी र जनमुखी बनाउनुपर्नेमा जोड दिइन् ।
