आइतबार २५ माघ, २०८२

स्वास्थ्य बीमा कांग्रेसको प्रतिबद्धता हो, राष्ट्रिय गौरवको योजना बनाउँछौँ : सभापति थापा

स्वास्थ्य बीमा कांग्रेसको प्रतिबद्धता हो, राष्ट्रिय गौरवको योजना बनाउँछौँ : सभापति थापा

काठमाडौं। नेपाली कांग्रेसका सभापति तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको योजनाका रूपमा अघि सार्ने बताएका छन् । 

आइतबार भिडियो वक्तव्य जारी गर्दै सभापति थापाले नेपालको स्वास्थ्य समस्या समाधान गर्ने एकमात्र उपाय बीमा भएकाले कांग्रेसले सरकार बनाउँदा त्यसलाई प्रभावकारी बनाएर अघि बढ्ने आफ्नो मूल प्रतिबद्धता रहेको बताएका हुन् । उनले भने, 'नेपाली कांग्रेस पार्टीका तर्फबाट यो प्रतिबद्धता हो। हामीले जिम्मेवारी पाउँदा स्वास्थ्य बीमाको कार्यक्रमलाई राष्ट्रिय गौरवको कार्यक्रम बनाउँछौं ।’ 

स्वास्थ्य बीमा सुरु गर्दा आफू स्वास्थ्य मन्त्री रहेको स्मरण गर्दै थापाले धेरै बिरामीलाई भेटेर समस्या बुझेपछि यो योजना अघि सारेको बताएका छन् । उनले भने, ‘त्यो बेला यतिधेरै मान्छेहरू मैले भेटें, जसले उपचार गर्दागर्दै आफ्नो धनसम्पत्ति सकिएको। बल्लबल्ल मिहिनेत गरेर गरिबीबाट बाहिर निस्किएको छ, परिवारको कुनै सदस्यलाई रोग लाग्यो, घरखेत जाने स्थिति बनेको ।’

‘तर म लामो समय रहन पाइनँ । पछि प्रदीप पौडेल स्वास्थ्य मन्त्री हुँदा केही काम भयो । तर दुखद् अहिले यो कार्यक्रम अस्तव्यस्त भयो । मैले समाचार सुन्दा यो त बन्दै हुन्छ कि भन्ने किसिमका खबर आएका छन् । त्यसकारण यसलाई सच्याउनुपर्ने र सुधार गर्नुपर्ने छँदैछ ।’

जनस्वास्थ्यको त्यही समस्या समाधान गर्न आफूले स्वास्थ्य बीमाको कार्यक्रम सुरु गरेको उनले बताए । त्यसका लागि चाहिने कानुन आफ्नै कार्यकालमा बनाएको उल्लेख गर्दै उनले त्यो कानुनले प्रत्येक नागरिकको बीमा गर्ने, बिमांकको केही अंश व्यक्तिले तिर्ने नसक्नेको अपांग, ज्येष्ठ नागरिकहरूको राज्यले तिरिदिने तय भएको बताए ।

अब प्रत्येक नेपाली नागरिकको स्वास्थ्य बीमा हुनुपर्ने सभापति थापाले बताए । बीमा कार्यक्रम चलाउन आफूले प्रशस्त अध्ययन गरेर तयारी गरेको पनि सभापति थापाले बताए ।

पहिले औपचारिक क्षेत्रबाट सुरु गरेर त्यसपछि रक्सी, चुरोटजस्ता वस्तुमा कर लगाउँदै त्यताको रकम स्वास्थ्य बीमामा प्रयोग गर्नेगरी काम गर्ने उनले बताए । दोस्रोमा स्वास्थ्यका सबै कार्यक्रमलाई एकीकृत गरेर स्वास्थ्य बीमाको फ्रेममा राख्नुपर्ने उनको राय छ । तेस्रोमा तीन तहका सरकारका कामलाई प्रणालीगत रूपमा एकीकृत गर्ने योजना रहेको उनले सुनाएका छन् । चौथोमा गभर्नेन्सको विषय रहेको उनले औंल्याएका छन् । 

‘हेल्थ इज नट च्यारिटी, हेल्थ इज सेक्युरिटी । यो संवैधानिक अधिकार हो,’ सभापति थापाले अगाडि भने, ‘यसमा सरकारको जिम्मेवारी छ । यो जिम्मेवारी पूरा गर्न स्वास्थ्य बीमाको कार्यक्रम नै हो । यसमा हामीले योजना बनाएका छौं ।’