आइतबार २५ माघ, २०८२

जुन पार्टीको भएपनि भिजन भएका व्यक्तिलाई मत दिन उपाध्यक्ष ढकालको आग्रह

जुन पार्टीको भएपनि भिजन भएका व्यक्तिलाई मत दिन उपाध्यक्ष ढकालको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले आगामी निर्वाचनमा जुन पार्टीको भएपनि भिजन भएका व्यक्तिलाई मत दिन आग्रह गरेका छन् ।

काठमाडौँ मुद्रण उद्योग संघको एघारौँ वार्षिक साधारण सभा तथा रिफ्रेसमेन्ट कार्यक्रमलाई सम्बोधन गर्दै उनले पढेलेखेको, सबै क्षेत्रमा दृष्टिकोण पुर्याउन सक्ने र भिजन भएको मान्छेलाई मत दिन आग्रह गरेका हुन् ।

‘मैले यो पार्टीको त भन्न मिलेन तर राजनीतिक स्थिरताको लागि पार्टी पनि हेनुपर्ला । धेरै पार्टीमा भोट छरिँदा कोलिसन गभर्मेन्ट आउला । हामीले हाम्रो परिवार, समाज र संघ संस्थालाई यो कुरा बुझाउन जरुरी छ । ’ उनले भने ।

कार्यक्रममा प्रमुख अतिथि ढकालले मुद्रण उद्योग इतिहास, वर्तमान र भविष्यलाई जोड्ने सेतु भएको पनि उल्लेख गरे। उनले भने, ‘मुद्रण उद्योग त्यस्तो क्षेत्र हो जहाँ विचारहरू अक्षर बन्छन्, अक्षरहरू चेतना बन्छन् र चेतनाले समाजलाई दिशा दिन्छ।’

बदलिँदो प्रविधि, आर्थिक उतार–चढाव र बजारका नयाँ चुनौतीहरूबीच पनि मुद्रण उद्योगले आफ्नो पेशागत मर्यादा, उत्तरदायित्व तथा सामाजिक भूमिकालाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने आवश्यकता पनि उनले औँल्याए।

उनले यस अवसरले उद्योगका संरचनागत समस्या, नीति–नियमसम्बन्धी अपेक्षा, प्रविधिगत रूपान्तरण तथा दिगो विकासका सम्भावनाहरूमाथि गम्भीर विमर्श गर्दै उद्योगीहरूबीच आपसी एकता, सहकार्य र साझा प्रतिबद्धतालाई थप सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिए।