बीमा प्राधिकरणद्वारा २२ कम्पनीहरुको वित्तीय विवरण स्वीकृत
काठमाडौं । नेपाल बीमा प्राधिकरणले २२ वटा बीमा कम्पनीहरूको गत आर्थिक आर्थिक वर्ष २०८१–८२ को वित्तीय विवरण स्वीकृत गरेको छ ।
बीमा प्राधिकरणले प्रकाशित गरेको बीमा प्रतिबिम्ब अनुसार पुस मसान्तसम्मको समयावधिमा १२ जीवन बीमा कम्पनी, ७ वटा निर्जीवन बीमा कम्पनी र ३ वटा लघु बीमा कम्पनीहरूको वित्तीय विवरण स्वीकृत गरेको हो ।
बीमा ऐन, २०७९ मा बीमकले प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण भएको वासलात र नाफा नोक्सानको विवरण तयार गरी अर्को आर्थिक वर्षको ६ महिनाभित्र तोकिएको ढाँचामा प्राधिकरणमा पेश गर्नुपर्ने व्यवस्था छ । सोही बमोजिम बीमकहरूबाट प्राप्त वित्तीय विवरण प्राधिकरणले स्वीकृत गरेको प्राधिकरणले जनाएको छ ।
वित्तीय विवरण स्वीकृत हुने जीवन बीमा कम्पनीहरूमा सिटिजन्स लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेका छन् ।
त्यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन, मेट लाइफ र हिमालयन लाइफको वित्तीय विवरण प्राधिकरणद्वारा स्वीकृत भएको छ ।
वित्तीय विवण स्वीकृत भएका निर्जीवन बीमा कम्पनीहरुमा आईजिआई प्रुडुन्सियल, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी रहेको छ ।
त्यस्तै, गार्डियन माइक्रो लाइफ, प्रोटेक्टिभ माइक्रो र लिवर्टी माइक्रोको वित्तीय विवरण स्वीकृत भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणबाट इजाजतपत्र लिएका जीवन बीमा कम्पनी १४ वटा, निर्जीवन बीमा कम्पनी १४ वटा, लघु बीमा कम्पनी ७ वटा र पुनर्बीमा कम्पनी २ वटा गरी जम्मा ३७ वटा बीमा कम्पनीहरू सञ्चालनमा रहेका छन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार समयसीमाभित्र वित्तीय विवरण पेश नगर्ने बीमा कम्पनीहरुले जरिवाना तिर्नुपर्ने छ । विवरण अनुसार दुई वटा पुनर्बीमा कम्पनी, दुई वटा जीवन बीमा कम्पनी, सात वटा निर्जीवन बीमा कम्पनी र चार वटा लघु बीमा कम्पनीहरुले समयमै वित्तीय विवरण पेश गर्न असमर्थ रहेका छन् ।
