आइतबार २५ माघ, २०८२

फेक रेस्क्यू प्रकरण : श्रीद्धी अस्पतालका सञ्चालक डा. गिर्वाणराज तिमिल्सिना पक्राउ

फेक रेस्क्यू प्रकरण :  श्रीद्धी अस्पतालका सञ्चालक डा. गिर्वाणराज तिमिल्सिना पक्राउ

काठमाडौं । विदेशी पर्यटकहरूको ‘फेक रेस्क्यू’ प्रकरणमा थप एक जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले श्रीद्धी अस्पतालका सञ्चालक ४४ वर्षीय डा. गिर्वाणराज तिमिल्सिनालाई पक्राउ गरेको हो ।

योसँगै पक्राउ पर्नेको संख्या ७ पुगेको छ । यसअघि सीआईबीले विभिन्न तीन कम्पनीका ६ जनालाई पक्राउ गरेको थियो ।

फेक रेस्क्यु र अस्पतालमा उचार गराएको देखाएर बीमा रकम असुल्ने क्रममा यो अस्पतालको समेत संलग्नता देखिएपछि सञ्चालक तिमिल्सिनालाई पक्राउ गरिएको सीआईबीले बताएको छ । पर्वतको मोदी गाउँपालिका–२ का तिमिल्सिनाको अस्पतालमा उपचार गराएको देखाएर काजगात बनाएर बीमा रकम असुल्ने गरेको पाइएको सीआईबीको भनाइ छ ।

यसअघि माउन्टेन रेस्क्यु सर्भिस प्रालिका सञ्चालक जयराम रिमाल, म्यानेजर विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका सञ्चालक रविन्द्र अधिकारी, अपरेसन म्यानेजर विवकेराज थपलिया, एभरेस्ट एक्सपेरियन्स एन्ड असिस्टेन्स प्रालिका सञ्चालक मुक्ति पाण्डे र म्यानेजर सुभाष केसी पक्राउ परेका थिए । उनीहरू अहिले पनि हिरासतमै छन् ।

चार्टर फ्लाइटलाई समेत रेस्क्यु (उद्धार) देखाएर बीमाको रकम ठगी गर्ने गरेको पाइएको थियो । यसका साथै नियमित फ्लाइटलाई पनि रेस्क्यु गरेको देखाएर रकम दाबी गर्ने गरेकोसमेत देखिएको छ । त्यसका लागि रेस्क्युको समय तालिका र प्यासेन्जर समेत नक्कली तयार पारिएको भेटिएको सीआईबीका एआईजी डा. मनोज केसी बताउँछन् ।

पछिल्लो पटक १ पुस २०८१ मा समेत पर्यटकको नक्कली उद्धारको कारबाही गरिपाउँ भन्दै सीआईबीमा उजुरी आएको थियो । यो भन्दा अघि १२ असोज २०८२ मा पनि यस्तै उजुरी आएको थियो । यही पुसमा पनि गृह मन्त्रालयले फेक रेस्क्युको उद्धार गर्न भन्दै सीआईबीलाई पत्राचार गरेको थियो ।

विदेशी पर्यटकहरूलाई लक्षित गरी केही ट्रेकिङ–ट्राभल्स कम्पनी, हेली रेस्क्यु कम्पनी, अस्पतालहरू र पर्यटक गाइडको अवैध मिलेमतोमा नक्कली उद्धार हुने गरेको सीआईबीको भनाइ छ ।

सीआईबीले सन् २०२२ देखि यता भएको फेक रेस्क्यूमा संलग्नहरूमाथि अहिले अनुसन्धान गरिरहेको छ ।

अहिलेसम्मको अनुसन्धानको क्रममा तीन कम्पनीबाट मात्रै ३१७ जनाको नक्कली उद्धार गरेको भेटिएको छ । माउन्टेन रेस्क्यु कम्पनीले सन् २०२२ देखि यता २०२५ सम्म १ हजार २४८ पर्यटकको उद्धार गरेको थियो । ती उद्धारमध्ये १७१ पर्यटकको उद्धार नक्कली देखिएको सीआईबीका अनुसन्धान अधिकृत बताउँछन् ।

‘यो प्रारम्भिक अनुसन्धानको विवरण हो । थप बढ्न सक्ने सम्भावना पनि छ,’ ती अधिकृत भन्छन् । १७१ जनाको नक्कली उद्धार गरेर बीमा वापतको १ करोड ३ लाख १० हजार २७६ अमेरिकी डलर यो कम्पनीले लगेको देखिएको छ ।

त्यसैगरी नेपाल चार्टरले ४१७ जनाको उद्धार गरेको छ । जसमध्ये ७५ जनाको उद्धार भने नक्कली देखिएको छ । त्यसवापत बीमाको ८२ लाख ३४ हजार ८२ अमेरिकी डलर बुझेको देखिएको छ ।

एभरेस्टले भने ६०१ जनाको उद्धार गरेको थियो । जसमध्ये ७१ जना पर्यटकको नक्कली उद्धार गरेको र त्यसवापत ११ लाख ५३ हजार ९१९ डलर बुझेको सीआईबीको भनाइ छ ।

अहिलेसम्मको अनुसन्धानबाट यी तीन कम्पनीले नक्कली उद्धारमार्फत बीमा वापतको १९.६९ मिलियन डलर बुझेको सीआईबीको दाबी छ ।