आइतबार २५ माघ, २०८२

‘अब राजनीति होइन, अर्थतन्त्रलाई केन्द्रमा राख्नुपर्छ’

‘अब राजनीति होइन, अर्थतन्त्रलाई केन्द्रमा राख्नुपर्छ’

काठमाडौँ । निजी क्षेत्रका दुई ठुला छाता सङ्गठनका नेतृत्वले मुलुकको समृद्धि र विद्यमान समस्या समाधानका लागि राजनीतिलाई भन्दा अर्थतन्त्रलाई केन्द्रविन्दुमा राख्नुपर्नेमा जोड दिएका छन् ।

क्लिकमान्डु डटकमले आइतबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरीले पछिल्लो समय निजी क्षेत्रमाथि भएका आक्रमणप्रति चिन्ता व्यक्त गरे । उनीहरूले राज्यले अर्थतन्त्र सुधारमा विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।

खरानी टकटक्याएर अघि बढ्न तयार छौँ तर सुरक्षा आवश्यक रहेको  अध्यक्ष ढकालले बताए। उनले जेनजी वा अन्य कुनै पनि आन्दोलनका नाममा निजी क्षेत्रका संरचनामाथि भएको तोडफोड र आगजनीले लगानीकर्तालाई निरुत्साहित गरेको बताए। ‘निजी क्षेत्रले जीडीपीमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान दिएको छ। तर, आन्दोलनका नाममा निजी क्षेत्रका सम्पत्ति लुटपाट र आगजनी भइरहेका छन्,’ ढकालले भने, ‘यस्तो अवस्थामा पनि हामी खरानी टकटक्याएर अघि बढ्न तयार छौँ, तर राज्यले सुरक्षाको प्रत्याभूति दिनुपर्छ।’

अध्यक्ष ढकालले निजी क्षेत्र नाफामुखी मात्र हुन्छ भन्ने गलत भाष्य समाजमा स्थापित गर्न खोजिएको गुनासो गरे। उनले भने, ‘निजी क्षेत्रले नाफा मात्र कमाउँदैन, आम नागरिकलाई सेवा र राज्यलाई कर पनि तिरिरहेको हुन्छ। सुशासन र भ्रष्टाचार नियन्त्रणको पक्षमा हामी सधैँ छौँ, तर आन्दोलनमा घुसपैठ गरेर लुटपाट मच्चाउने कार्य निन्दनीय छ।’ 

उनले सरकारी संरचनामा क्षति हुँदा पाल टाँगेर छोपिने तर निजी क्षेत्रको अर्बौँको क्षति हुँदा उठ्नै नसक्ने अवस्था आउने तर्फ सचेत गराउँदै भने, ‘हामी रोजगारी चाहियो भनिरहेका छौँ, तर रोजगारी दिने उद्योगमै आगो लगाइरहेका छौँ। यो विरोधाभास अन्त्य हुनुपर्छ।’ 

त्यस्तै नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरीले मुलुकको मुख्य समस्या युवा बेरोजगारी रहेको औँल्याए। उनले सरकारी तथ्याङ्कमा बेरोजगारी १०–११ प्रतिशत देखिए पनि वास्तविकतामा युवा बेरोजगारी ३० देखि ४० प्रतिशतको हाराहारीमा रहेको दाबी गरे। 

‘२५ वर्षको अनुभवमा मैले नेपालमा धेरै अस्थिरता, द्वन्द्व र भूकम्पजस्ता विपत्ति देखेँ। तर निजी क्षेत्र सधैँ ‘रेजिलेन्ट’ भएर उभिएको छ,’ चौधरीले भने, ‘अहिलेको जेनेरेसन जेडको आक्रोशको मुख्य कारण रोजगारीको अभाव हो। जबसम्म अर्थतन्त्रलाई राजनीतिभन्दा माथि राखिँदैन, तबसम्म यो समस्या समाधान हुँदैन।’ 

उनले भारतको उदाहरण दिँदै सन् १९९० को दशकमा भारतले राजनीतिलाई भन्दा अर्थतन्त्रलाई प्राथमिकता दिएकै कारण आज विश्वको उदाउँदो शक्ति बनेको स्मरण गराए। 

‘हाम्रोमा सधैँ राजनीतिक एजेन्डा अघि हुन्छन्। अब मिडियाले पनि हेडलाइनमा पोलिटिक्स होइन, इकोनोमीलाई राख्नुपर्छ,’ उनले भने। वैदेशिक लगानी भित्र्याउने चिन्ता गर्नुभन्दा पहिला स्वदेशी लगानीकर्तालाई सुरक्षित महसुस गराउनुपर्नेमा उनले जोड दिए।

‘जब स्वदेशी लगानीकर्ताले सुरक्षित महसुस गर्छन् र लगानी बढाउँछन्, एफडीआई आफैँ आउँछ,’ चौधरीले भने, ‘हामी अझै पनि नेपालको भविष्यप्रति आशावादी छौँ। हामी भागेका छैनौँ, यहीँ बसेर देश बनाउन चाहन्छौँ।’ 

उनीहरूले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन र राज्यले लगानीमैत्री वातावरण बनाउन तत्काल ठोस कदम चाल्नुपर्नेमा एकमत जाहेर गरेका थिए।