सोमबार २६ माघ, २०८२

ताकाइचीको क्लिन स्वीप : ४० वर्ष पुरानो रेकर्ड तोड्दै एलडिपीलाई दुई तिहाइ बहुमत

ताकाइचीको क्लिन स्वीप : ४० वर्ष पुरानो रेकर्ड तोड्दै एलडिपीलाई दुई तिहाइ बहुमत

जापान । जापानकी प्रथम महिला प्रधानमन्त्री सानाए ताकाइचीले देशको संसदीय इतिहासमै अहिलेसम्मकै ठूलो जित हासिल गरेकी छन् ।

आइतबार सम्पन्न संसदको तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) को निर्वाचनमा ताकाइचीको नेतृत्वमा रहेको लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले ऐतिहासिक ३१६ सिट जित्दै दुई तिहाइ बहुमत प्राप्त गरेको हो ।

सन् १९५५ मा एलडिपी स्थापना भएदेखिकै यो सबैभन्दा ठूलो जित हो । यसअघि सन् १९८६ मा तत्कालीन प्रधानमन्त्री यासुहिरो नाकासोनेले ३०० सिट जितेर राखेको रेकर्डलाई ताकाइचीले ४० वर्षपछि भंग गरेकी छन् ।

कुल ४६५ सिट रहेको तल्लो सदनमा दुई तिहाइ बहुमतका लागि ३१० सिट आवश्यक पर्छ । तर, प्रधानमन्त्री ताकाइचीको पार्टी एक्लैले ३१६ सिट जितेर सुपर म्याजोरिटी कायम गरेको छ । सत्तारुढ गठबन्धनको अर्को घटक जापान इनोभेसन पार्टी ले ३६ सिट जितेसँगै सरकारको पक्षमा ३५२ सिट पुगेको छ ।

यसअघि सन् २०२४ को निर्वाचनमा एलडिपी १९८ सिटमा खुम्चिएको थियो । ताकाइचीले प्रधानमन्त्री बनेको तीन महिनामै गत जनवरी २३ मा संसद विघटन गरी ताजा जनादेशमा जाने जोखिमपूर्ण निर्णय लिएकी थिइन्, जुन अहिले उनको पक्षमा चमत्कारिक सावित भएको छ ।

अर्कोतर्फ, विपक्षी गठबन्धन ुसेन्टर रिफर्म कोलिसनु ले ठूलो धक्का बेहोरेको छ । अघिल्लो निर्वाचनमा १७२ सिट जितेर बलियो देखिएको विपक्षी मोर्चा यसपटक केवल ४९ सिटमा खुम्चिएको छ । एलडिपी गठबन्धन बाहिरका अन्य साना दलहरूले जम्मा ११३ सिट प्राप्त गरेका छन् ।

निर्वाचन जितलगत्तै सम्बोधन गर्दै ६४ वर्षीया ताकाइचीले आफ्नो ऐतिहासिक विजयलाई जापानी जनताले आफ्नो जापान फर्स्ट नीतिमा दिएको समर्थन भएको बताएकी छन् ।