सोमबार २६ माघ, २०८२

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले पहिलो दीक्षान्त समारोह सफलतापूर्वक सम्पन्न गरेको छ । आइतबार चित्लाङस्थित विश्वविद्यालयको प्रांगणमा पहिलो पटक दीक्षान्त समारोह सम्पन्न भएको हो ।

दीक्षान्त समारोहमा पहिलो ब्याचमा भर्ना भएका विद्यार्थी धनकृष्ण आचार्य, सवनम सुवेदी र शिशिल राई विश्वविद्यालयका पहिलो स्नातक बने । उनीहरूले अर्गानिक कृषि कार्यक्रमबाट स्नातक गरेका छन् । यो विश्वविद्यालय ‘रिसर्च युनिभर्सिटी’को अवधारणामा स्थापित नेपालको पहिलो विश्वविद्यालय हो ।

दीक्षान्त समारोहमा प्रमुख अतिथि रहेका विश्वप्रसिद्ध उच्च शिक्षा विशेषज्ञ डा. जमिल साल्मीले विश्वविद्यालयका पहिलो स्नातकहरूलाई जिज्ञासु, नैतिक र सामाजिक उत्तरदायी नेताका रूपमा अघि बढ्न प्रेरित गरे । उनले विश्वविद्यालयको भविष्यमुखी मोडेल, गुणस्तर, स्वायत्तता र तीव्र परिवर्तनशील विश्वस्तरीय ज्ञानमा आधारित रहेर आफ्नो यात्रा तय गरेकोमा खुसी व्यक्त गरे । समारोहमा साल्मीलाई उच्च शिक्षा सुधार र नीतिमा उत्कृष्ट अन्तरराष्ट्रिय योगदानका लागि सम्मान स्वरूप मानद उपाधि प्रदान गरिएको थियो ।

समारोहमा विश्वविद्यालय बोर्ड अफ ट्रस्टीका सदस्य प्रोफेसर सुजान फोर्टियरले स्नातकहरूलाई बधाई दिँदै शैक्षिक र व्यावसायिक यात्रामा उत्कृष्टता, इमानदारीका लागि शुभकामना प्रदान गरिन् । उनी क्यानडाको म्याकगिल विश्वविद्यालयकी पूर्व प्रिन्सिपल र भाइस–चान्सलर पनि हुन् । यस्तै क्यानाडाको नेचुरल साइन्सेस एन्ड इन्जिनियरिङ रिसर्च काउन्सिलकी पूर्वअध्यक्ष पनि हुन् ।

समारोहमा विश्वविद्यालय बोर्ड अफ ट्रस्टीका अध्यक्ष पद्म ज्योतिले विश्वविद्यालयले सिर्जना गरेको ज्ञान नवप्रवर्तन, उद्यमशीलता र रोजगारीमा रूपान्तरण हुनुपर्नेमा जोड दिए ।

समारोहमा विश्वविद्यालयका अध्यक्ष डा. राजेन्द्रध्वज जोशीले अनुसन्धान क्षमता सुदृढ गर्ने, वैज्ञानिक शिक्षालाई प्रवर्धन गर्ने र शैक्षिक अनुसन्धानलाई राष्ट्रिय विकास प्राथमिकतासँग जोड्ने प्रयास विश्वविद्यालयले गरिरहेको बताए ।

२०७९ मा ऐन जारी भई सञ्चालनमा आएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय परम्परागत शिक्षणभन्दा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित छ । विश्वविद्यालयमा जैविक कृषि, वन पैदावार, कृत्रिम बौद्धिकता, तथ्यांक विज्ञान र दिगो पूर्वाधार जस्ता विषयमा स्नातकोत्तर र विद्यावारिधि कार्यक्रम सञ्चालित छन् ।

यस्तै विश्वविद्यालयले आगामी शैक्षिक शत्रबाट साइबर सुरक्षा, आर्टिफिसियल इन्टेलीजेन्स(एआई) र तथ्यांक विज्ञानमा स्नातक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।