ब्रिटिस काउन्सिलद्धारा ‘इक्वेल टुगेदर’ कार्यक्रम अन्तर्गत लैङ्गिकताको मुद्धामा केन्द्रित कला सृजनाका लागि अनुदान प्रदान
काठमाडौं । ब्रिटिस काउन्सिलले लैङ्गिक समानताको सवाललाई सम्वोधन गर्ने तथा समाजमा कम प्रतिनिधित्व भएका आवाजलाई मुखरित गर्ने नवीनतम सृजनालाई सहयोग गर्ने उद्देश्यसहित नेपालका कलाकर्मी, एक–आपसमा मिलेर कला सिर्जना गर्ने व्यक्ति र संस्थाका गरी १२ वटा कला परियोजनाका लागि अनुदान प्रदान गरेको छ ।
सृजनात्मक अभ्यासलाई सबल बनाउन र जनसहभागितालाई प्रोत्साहन गर्न तथा लैङ्गिकता, कला र संस्कृतिका विविध पक्षको संयोजन कार्यमा संलग्न अभ्यासकर्तालाई सहयोग गर्न कला र लैङ्गिकतासम्बन्धी “इक्वेल टुगेदर” कार्यक्रम अन्तर्गत कूल ८४ लाख ८२ हजार ७०० रुपैयाँ बराबरको अनुदान प्रदान गरिएको हो ।
यस बर्ष अनुदान प्राप्त गर्नेहरुमा विविध सिर्जनात्मक अवधारणा र समुदाय केन्द्रित परियोजनालाई प्रतिनिधित्व गर्ने ८ जना कलाकर्मी र चार वटा संस्था छन् । उनीहरुले न्युनतम ६ लाख रुपैयाँदेखि अधिकतम १० लाख रुपैयाँसम्मको अनुदान प्राप्त गरेका छन् ।
अनुदान रकम बाहेक ती कलाकर्मी र संस्थाले कला क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिइने सत्रमा सहभागी हुन पाउनेछन् । त्यसैगरी, सृजनात्मक विकास, परियोजना कार्यन्वयन र दर्शकको सहभागिता लगायत बिषयबारे सिक्ने अवसर उनीहरुलाई प्रदान गरिनेछ ।
अनुदानको अवधि अर्थात् सन् २०२६ को जनवरीदेखि जूनसम्म अनुदान प्राप्त गर्ने कलाकर्मी र संस्थाले विभिन्न कार्यक्रम सञ्चालन गर्नेछन् । यस अवधिमा काठमाडौं र नर्दन आयरल्याण्डको बेलफास्ट शहर क्वेयर समुदायलाई चित्रण गरिएको कमिक (हास्य सामाग्री) प्रदर्शनी, जनकपुरमा स्थानीय समुदायले तयार पारेको मिथिला कलासम्बन्धी पदयात्रा तथा दमक र काठमाडौंमा महिला र क्वेयर समुदायका हास्य कलाकारको स्ट्यान्ड–अप कमेडी कार्यक्रम हुनेछ ।
त्यस्तै, फिल्म, नाटक, बाल पुस्तक र स्थानीय समूहसँगको सहभागितामा तयार पारिएको समुदायमा आधारित कलाको प्रदर्शनी समेत हुनेछ ।
अनुदान घोषणा गर्दै ब्रिटिस काउन्सिलका राष्ट्रिय निर्देशक (कन्ट्री डाइरेक्टर) रुस्तम मोदीले भने –“ यहाँका कला र संस्कृतिले लामो समयदेखि समुदायलाई आत्म चिन्तन गर्न, चासो प्रकट गर्न र जिज्ञासा राख्न तथा आपसमा जोडिन सहयोग गर्र्दै आएका छन् । इक्वेल टुगेदर कार्यक्रमले लैङ्गिक मुद्धाका सबै खाले जटिलतालाई कलामार्फत उजागर गर्ने कार्यमा संलग्न अभ्यासकर्तासँग सहकार्य गर्न हामीलाई सक्षम बनाएको छ । यो समूहका परियोजनाहरुले नेपालको विविधतायुक्त परिवेश र सन्दर्भमा सार्थक र महत्वपूर्ण सम्वादलाई सृजनात्मक अभ्यासले कसरी मद्धत गर्न सक्छन् भन्नेबारे देखाउन सक्छन् ।”
छनोट प्रक्रियाः
सन् २०२५–२६ को समूहको छनोट सहभागितामूलक प्रक्रियाबाट गरिएको थियो । सन् २०२५ अगस्टमा ब्रिटिस काउन्सिलले खुला आव्हान गरे अनुसार नेपालभरबाट १८० भन्दा बढी आवेदन परेको थियो । तीमध्ये ५३ आवेदकलाई सर्ट लिस्ट गर्दै सेप्टेम्बर महिनामा काठमाडौंमा आयोजित दुई दिने सेमिनरमा सहभागी गराइएको थियो, जहाँ उनीहरुले लैङ्गिकता, समावेशीकरण र कलाका विविध पक्षबारे ज्ञान हासिल गरेका थिए । सेमिनारपछि सहभागीको तर्फबाट परियोजना सञ्चालनका लागि प्रस्ताव पेश भएकोमा १२ वटा परियोजना अनुदान र प्रशिक्षणका लागि छनोट भएका हुन् ।
छनोट भएका परियोजनाहरुः
विराट विजय ओझा । स्थानः काठमाडौं र बेलफास्ट
विराटले बाबु–छोराको कथामार्फत पुरुषत्व, शोक र भावनात्मक उपचारको अन्वेषण गर्दै टेन्डर इज द टियर शीर्षकमा १५ पृष्ठको क्वेयर कमिक सृजना गर्दै हुनुहुन्छ । लैङ्गिकता र पहिचानबारे अन्तर–साँस्कृतिक सम्वादलाई प्रवद्र्धन गर्न आयरल्याण्डका कलाकार इली माकेमसँगको सहकार्यमा तयार पारिएको उक्त कमिक काठमाडौं र बेलफास्टमा प्रदर्शन गरिनेछ ।
इनुमा राई । स्थानः कोशी प्रदेश
इनुमाले अडियो–भिजुअल स्टोरी टेलिङमार्फत किराँत समुदायकी वृद्ध महिलाको भूमिकालाई चित्रण गर्दै आफ्नो सृजना तयार पार्नुभएको छ । मौखिक परम्परा, लोकसंगीत, खानपानमा प्रचलित अभ्यास र चलन, हस्तकला र नाम राख्ने पृथक परम्पराका विविध पक्ष समेटिएको यस परियोजनाले आधिकारिक दस्तावेजमा संग्रह नगरिएका र लोप हुने जोखिममा रहेको आदिवासी किराँत समुदायसम्बन्धी बिषयलाई संरक्षण र प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।
दि लिड नेपाल । स्थानः सुर्खेत
कथा कर्णालीले कविता वाचन र फोटोग्राफीको माध्यमबाट युवा दलित महिलाको सशक्तिकरणको सवाललाई उठाएको छ । कथा वाचन (स्टोरी टेलिङ) का लागि सुरक्षित स्थल (सेफ स्पेस) तयार पार्दै यस परियोजनाले आत्मविश्वास जगाउने, लैङ्गिक र जातिय विभेदलाई चुनौती दिने तथा कार्यशाला, प्रस्तुति र सार्वजनिक प्रदर्शनीमार्फत सहभागीको आवाजलाई उजागर गर्नेछ ।
मिथिला माझ । स्थानः जनकपुर
यस परियोजनाले मिथिला क्षेत्रको कला र साँस्कृतिक सम्पदामा मुस्लिम, दलित र जनजाति कलाकारसहित जनकपुरका महिलाको योगदानबारे चर्चा गर्दै प्रत्यक्ष अवलोकन र डिजिटल पदयात्राका लागि कलात्मक सामाग्री तयार पारेको छ । जनकपुरका स्थानीय महिलाहरुले साँस्कृतिक पक्षमा आफ्नो उपस्थिति दशाउँदै तथा महिलाको विगत र इतिहासका विविध पक्षलाई सचित्र वर्णन गर्दै तयार पारेको एक किलोमिटर लामो मैथिली भित्तेचित्र (मुरल) सृजना गर्दैछन् ।
डोल्कर ल्हामु गुरुङ । स्थानः काठमाडौं
डोल्करको परियोजना “रिइम्याजिनिङ ल्हामु” ले तिब्बती र हिमाली क्षेत्रभित्र पाइने लैङ्गिक र यौनिक विविधताबारे बताउन तिब्बती लोक ओपेरा (गीतिनाट्य) को प्रयोग गरेको छ । सो क्षेत्रमा परिचित र स्थानीय भाषामा प्रदर्शन गरिएको यस सृजनात्मक कार्यमा हेरचाह, भावनात्मक पक्ष र साँस्कृतिक महत्वसहित संवेदनशील बिषयवस्तु समावेश गरिएको छ ।
दिनेशराज उपाध्याय । स्थानः सुदुरपश्चिम नेपाल
दिनेशले नेपालको सुदुरपश्चिम क्षेत्रका ७ जिल्लामा महिलाहरुको प्रस्तुति रहने लोपोन्मुख सांगितिक परम्परालाई संग्रह गर्नुभएको छ । यस परियोजनाले फिल्म, भर्चुअल टु र आर्टिस प्रोफाइल –कलाकारको परिचय) सहित सो क्षेत्रमा गाइने ढुस्का, ठाडी भाका, फाग र माङ्गल जस्ता लोकभाकालाई संरक्षण गर्न खोजेको छ । ती लोकभाकामार्फत महिलाको आवाज, भावना र ज्ञानलाई दवाउन खोज्ने पित्तृसत्तात्मक सोच र मान्यतालाई चुनौती दिइएको छ ।
योजना मगर । स्थानः काठमाडौं
विनाशपछि संसारको परिवेशमा तयार पारिएको “नो–होयर टु सिट” नामक लघु फिक्सन (कथात्मक) फिल्ममा खाली बसमा महिलाका लागि छुट्याइएको एक मात्र सिटमा को बस्ने भनेर तीन किशोरीबीच भएको विवाद र झगडालाई मूल बिषयवस्तुको रुपमा प्रस्तुत गरिएको छ । डार्क ह्युमर र तनाव प्रयोग गर्दै फिल्मले लैङ्गिक मूल्य–मान्यता, ऐक्यवद्धता र मानवीय जीवनलाई नयाँ र सहज रुपमा चित्रण गरेको छ ।
सुशीला तामाङ । स्थानः काठमाडौं
अपराजिता नामक परियोजनाले अधिकारमा आधारित र नारीवादी कथावाचन (फेमिनिष्ट स्टोरी टेलिङ) मा ७ जना लेखकलाई तालिम प्रदान गर्नुका साथै कार्यशाला आयोजना गरी चित्रसहितको ७ वटा पुस्तक प्रकाशन गर्दै नेपाली बाल साहित्यमा समावेशीकरणलाई महत्व दिएको छ । दलित, मधेसी, जातिय अल्पसंख्यक र सीमान्तकृत समुदायमाथि केन्द्रित कथाहरु समावेश गरिएका ती पुस्तकहरु १० हजार बालबालिकामाझ पु¥याउने लक्ष्य राखिएको छ ।
पास द माइक । स्थानः दमक र काठमाडौं
पास द माइकले महिला तथा लैङ्गिक र यौनिक अल्पसंख्यक समुदायलाई सृजनात्मक कार्यको अवसर प्रदान गरेको छ । दमकमा आयोजित जोक (ठट्यौली सामाग्री) लेखन कार्यशाला र काठमाडौंमा आयोजित प्रदर्शनीमार्फत यस परियोजनाले रुढीवादी सोचलाई चुनौती दिन, आत्मविश्वास बढाउन हास्य चेतको प्रयोग गर्नुको साथै कथावाचनका लागि सुरक्षित स्थल तयार पारेको छ ।
एलिज घिमिरे । स्थानः पोखरा, बुटवल र काठमाडौं
एलिजको फेसन आर्टले लत्ताकपडालाई व्यक्तिको सहनशीलतासँग कसरी जोडेर हेरिन्छ भन्ने बिषयलाई देखाउन खोजेको छ । ट्रान्स महिला (पारालैङ्गिक महिला), क्वेयर समुदायको व्यक्ति र केही परिवारको पहिरनको वर्णन गर्दै यस परियोजनाले पहिरनसम्बन्धी नियम (ड्रेस कोड) ले समाजमा कसरी लैङ्गिकता र व्यक्तिको नैतिकतालाई निर्धारण गर्न खोजिएको छ भन्ने बिषयलाई वर्णन गरेको छ । साथै लत्ताकपडालाई व्यक्तिको चेतना, पहिचान र मर्यादाको साधन ठान्ने सोचलाई पुर्नपरिभाषित गरिएको छ ।
गार्गी नेपाल । स्थानः काठमाडौं र चितवन
गार्गी नेपालको स्टेज अफ स्ट्रेन्थ नामक समावेशी नाट्य कार्यक्रममा विभिन्न खालका अपाङ्गता भएका ३० जना किशोरी र युवा महिलालाई सहभागी गराइएको छ । अपाङ्गता भएका व्यक्ति सहज रुपमा सहभागी भएको कार्यशाला, आपसमा मिलेर तयार पारिएको स्क्रिप्ट तथा सांकेतिक भाषा, अडियो सामाग्री र छोएर थाहा पाउन सकिने प्रोप्सको प्रयोग गरिएको परियोजनाले लैङ्गिक र अपाङ्गता भएका व्यक्तिको अधिकारलाई प्रवद्र्धन गर्न खोजेको छ । सो परियोजना प्रत्यक्ष कार्यक्रम र अनलाइनमार्फत् दर्शकमाझ पुगेको छ ।
अंकुरा स्टुडियो । स्थानः ललितपुर
अंकुरा स्टुडियोले समन्वयात्मक रुपमा तयार पारिएको कला र कथावाचन (स्टोरी टेलिङ) मार्फत् नेवारी समुदायको पिलाँछेका वृद्ध महिलाको कथाहरु तयार पारेको छ । यस परियोजना नेवारी समुदायका महिलाको चेतना, हेरचाह र भावनात्मक बिषयमा केन्द्रित रहँदै बढ्दो शहरीकरणका बीच आफ्नो क्षेत्रमा उनीहरुको अदृश्य योगदानबारे व्याख्या गरेको छ ।
इक्वेल टुगेदरबारे
इक्वेल टुगेदर नेपालमा कला, संस्कृति र लैङ्गिक सवालका अन्र्तसम्वन्धित बिषयमा काम गर्ने सृजनात्मक÷रचनात्मक अभ्यासकर्तालाई सहयोग गर्ने ब्रिटिस काउन्सिलको एक विशेष पहल हो । क्षमता विकास, विज्ञहरुबाट रायसुझाव (मेन्टरसीप) र सर्वसाधारणको संलग्नता तथा वुमन अफ द वल्र्ड फेस्टिभल जस्तो प्लेटफर्ममा कलाकर्मीको प्रस्तुतिका लागि अवसर प्रदान गर्न यो कार्यक्रम केन्द्रित छ । सन् २०२३ मा शुभारम्भ गरी नेपालका २९ स्थानमा काम गरिरहेका १४ व्यक्ति र संस्थालाई अनुदान प्रदान गरिएको जेन्डर ग्रान्ट प्रोग्रामको सफलतापछि इक्वेर टुगेदर कार्यक्रम सञ्चालन गरिएको हो ।
ब्रिटिस काउन्सिलको ग्लोवल कल्चर स्ट्राटेजी
विश्वव्यापी चुनौतीलाई साँस्कृतिक माध्यमबाट सम्वोधन गर्ने ब्रिटिस काउन्सिलको विश्वव्यापी ढाँचा अन्तर्गत इक्वेल टुगेदर कार्यक्रम सञ्चालन भइरहेको छ, यसले दीगो विकासका लागि संस्कृतिको योगदानलाई प्रवद्र्धन गर्दछ । यस कार्यक्रमले समावेशीता, दीगोपन र जलवायुप्रति संवेदनशील साँस्कृतिक अभ्यासलाई प्रवद्र्धन गर्दै सामाजिक र वातावरणीय मुद्धालाई सम्वोधनमा कलाकर्मीलाई सहयोग गर्दछ ।
ब्रिटिस काउन्सिलबारे
ब्रिटिस काउन्सिल संयुक्त अधिराज्य (युके) को साँस्कृतिक र शैक्षिक गतिविधिका लागि क्रियाशील अन्र्तराष्ट्रिय संस्था हो । ब्रिटिस काउन्सिलले संयुक्त अधिराज्य र अन्य देशका नागरिकबीच सम्वन्ध विस्तार गर्दै, एक–अर्काको बुझाइलाई परिस्कृत गर्दै तथा आपसी विश्वास र भरोसा निर्माण गर्दै शान्ति र समृद्धिका लागि सहयोग गर्दछ । उक्त कार्य काउन्सिलले कला, संस्कृति, शिक्षा र अंग्रेजी भाषासम्बन्धी कार्यक्रममार्फत गरिरहेको छ । काउन्सिल २ सय भन्दा बढी मुलुुक र भूूभागका नागरिकसँग काम गर्दछ । सन् २०२४–२०२५ मा ब्रिटिस काउन्सिल ६०० मिलियन व्यक्तिसमक्ष पुुगेको छ ।
