सोमबार २६ माघ, २०८२

विश्वकप क्रिकेट : इटालीसँग स्कटल्यान्ड ७३ रनले विजयी

विश्वकप क्रिकेट : इटालीसँग स्कटल्यान्ड ७३ रनले विजयी

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा स्कटल्यान्डले इटालीलाई ७३ रनले पराजित गरेको छ ।

भारतको कोलकतास्थित इडेन गार्डेनमा आज भएको खेलमा जितका लागि २०८ रनको लक्ष्य पछ्याएको इटाली १६ दशमलव ४ ओभरमा १३४ रन बनाउँदै अलआउट भयो । उसका लागि बेन मनान्तीले अर्धशतकीय पारी खेले । उनले ३१ बल खेल्ने क्रममा एक छक्का र पाँच चौकासहित ५२ रन बनाए । साथै ह्यारी मनान्तीले ३७, जेजे स्मुल्सले २२ र एन्थोनी मोस्काले १३ रन बनाए ।

स्कटल्याण्डको जितमा मिचल लिस्कले चार विकेट लिए भने मार्क वाटले दुई विकेट लिए । साथै ब्राड कुरी, ब्राड ह्वील र ओलिभर डेभिडसनले एक/एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा चार विकेट गुमाउँदै २०७ रन बनाएको थियो । उसका लागि जर्ज मुल्सेले सर्वाधिक ८४ रनको योगदान दिए । त्यसैगरी ब्रेन्डन म्याकमुलेनले अविजित ४१ रन जोडे भने माइकल जोन्सले ३७ रन बनाए । त्यस्तै माइकल लिस्कले २२ रन जोड्दा रिची बेरिङ्टनले १५ रन बनाए ।

स्कटल्यान्ड र इटाली नेपालसहित समूह ‘सी’मा रहेका छन् । नेपालको समूहमा यी टोलीसँगै वेस्टइन्डिज र इङ्ल्यान्ड पनि समावेश छन् ।

विश्कपमा स्कटल्यान्डको यो दोस्रो खेल हो । यसअघि स्कटल्यान्ड वेस्ट इन्डिजसँग पराजित भएको थियो । त्यस्तै इटालीको भने यो पहिलो खेल हो । समूह ‘सी’अन्तर्गत हिजो भएको खेलमा नेपाल इङ्ल्यान्डसँग चार रनले पराजित भएको थियो ।