सोमबार २६ माघ, २०८२

९० प्रतिशत भन्दा बढी नेपाली पुरुषसँग आफ्नै मोबाइल फोन, महिलाको हातमा कति ?

९० प्रतिशत भन्दा बढी नेपाली पुरुषसँग आफ्नै मोबाइल फोन, महिलाको हातमा कति ?

काठमाडौं । नेपालमा १५ देखि ४९ वर्ष उमेर समूहका ९०.४ प्रतिशत पुरुषसँग आफ्नै मोबाइल फोन रहेको पाइएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको ‘चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२’ को नतिजा अनुसार महिलाको तुलनामा धेरै पुरुषसँग आफ्नै मोबाइल फोन रहेको देखिएको हो ।

देशभरि १५ देखि ४९ वर्ष उमेर समूहका महिलामध्ये ८१.६ प्रतिशतसँग आफ्नै मोबाइल रहेको समेत तथ्यांकले देखाएको छ । यो उमेर समूहका ७२.७ प्रतिशत महिलाले गत तीन महिनामा मोबाइल फोन प्रयोग गरेको समेत पाइएको छ ।

त्यस्तै ७८.७ प्रतिशत पुरुषले पछिल्लो तीन महिनामा मोबाइल फोन प्रयोग गरेको सर्वेक्षणबाट देखिएको छ ।

मोबाइल फोनमा पनि स्मार्ट फोन प्रयोग संख्यासमेत उल्लेख्य रहेको तथ्यांकले देखाएको छ । आफ्नै स्मार्ट फोन प्रयोग गर्ने वयस्क पुरुष ८२.१ प्रतिशत छन् । महिला ७२.८ प्रतिशत छन ।

काठमाडौं उपत्यकाभित्रको ग्रामीण भेगबाहेक क्षेत्रमा ९२.४ प्रतिशतले स्मार्ट फोन प्रयोग गर्ने गरेको देखिएको छ ।

नेपालमा हरेक पाँचमध्ये चार घरमा इन्टरनेट सुविधा सहित उपकरण प्रयोग गर्ने गरेको समेत सर्वेक्षणको विश्लेषण छ । अर्थात्, ८२ प्रतिशत घरपरिवारमा इन्टरनेट प्रयोग हुने उपकरण प्रयोग भइरहेको देखिएको छ ।

यसमध्ये सहरी इलाकामा ८६.५ प्रतिशत घर र ग्रामीण इलाकाका ७३ प्रतिशत घरपरिवारमा यस्ता उपकरण रहेको देखिएको छ । प्रदेशगत हेर्दा सबैभन्दा कम कर्णाली प्रदेशको ग्रामीण भेगमा ५९.१ प्रतिशत घरपरिवारमा मात्र यस्ता उपकरण प्रयोग भएको तथ्यांक छ ।