सोमबार २६ माघ, २०८२

डेढ वर्षपछि सौर्य एयरलाइन्सले पायो उडान अनुमति, प्रतिबन्ध फुकुवा

डेढ वर्षपछि सौर्य एयरलाइन्सले पायो उडान अनुमति, प्रतिबन्ध फुकुवा

काठमाडौं । डेढ वर्षसम्म उडान रोकिएको निजी क्षेत्रको वायुसेवा कम्पनी सौर्य एयरलाइन्सले पुन उडान अनुमति पाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्यको एयरक्राफ्ट अपरेटर सर्टिफिकेट (एओसी) नवीकरण गर्दै उडान प्रतिबन्ध फुकुवा गरेको हो।

२०८१ साउन ९ गते पोखरा उडानका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भीषण दुर्घटनापछि सौर्य एयरलाइन्सको एओसी अनिश्चितकालका लागि निलम्बन गरिएको थियो। सि–चेकका लागि पोखरा उडेको जहाज दुर्घटनाग्रस्त हुँदा क्याप्टेन मनिष शाक्य बाहेक १८ यात्रुको ज्यान गएको थियो। जहाज रनवे ०२ बाट उडेर पूर्वतर्फ रनवे २० नजिकै खसेको थियो।

प्राधिकरणले माघ ४ गतेदेखि लागू हुने गरी सौर्य एयरलाइन्सको एओसी नवीकरण गरेको हो। नवीकरणको अवधि सन् २०२७ सम्म रहने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

यससँगै सौर्यलाई चन्द्रगढी (भद्रपुर), विराटनगर, नेपालगञ्ज, धनगढी, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) मा नियमित तथा वैकल्पिक उडान सञ्चालनको अनुमति दिइएको छ।

दुर्घटनापछि लामो समयदेखि उडान अनुमति माग्दै आएको सौर्य एयरलाइन्सले अब तीनवटा सीआरजे–२०० सिरिजका ५० सिट क्षमताका विमानमार्फत सेवा पुनः सुरु गर्ने भएको छ। कम्पनीका बजार प्रमुख मुकेश खनालका अनुसार एक विमान काठमाडौं बाहिर र दुई विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै राखेर सञ्चालन गरिनेछ।

हाल काठमाडौं–भद्रपुर–विराटनगर रुटमा उडान भइरहेको र आगामी दिनमा नेपालगञ्ज तथा मानसरोवरसम्म उडान विस्तार गर्ने योजना रहेको खनालले बताए। साथै कम्पनीले थप तीन वटा नयाँ एटिआर–६०० जहाज खरिद गर्ने तयारी पनि गरेको छ।

उडान पुनः सञ्चालन अघि सुरक्षा अडिट, कर्मचारी तालिम, आवश्यक कागजात सुधार तथा डिजिटल प्रणाली सम्बन्धी सबै प्रक्रिया पूरा भइसकेको कम्पनीले जनाएको छ। नियामकको मापदण्डअनुसार गरिएको फ्लाइट सेफ्टी अडिट (एसएमएस) मा सौर्य एयरलाइन्सले ६५ प्रतिशत अंक प्राप्त गरेको छ, जुन ६० प्रतिशतभन्दा माथि रहेकाले सन्तोषजनक मानिन्छ।