३३ किलो सुन तस्करी प्रकरण : जिल्लाको फैसला आंशिक उल्टी, गोरेलाई थप १० वर्ष कैद
विराटनगर । बहुचर्चित ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले जिल्ला अदालत मोरङको फैसलालाई आंशिक रूपमा उल्ट्याएको छ ।
आइतबार राति भएको फैसलाअनुसार मुख्य अभियुक्त ‘गोरे’ भनिने चुडामणि उप्रेतीलाई अपहरण तथा शरीर बन्धक मुद्दामा थप १० वर्ष कैद सजाय सुनाइएको छ ।
उच्च अदालतका न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजालासले माघ २० गतेदेखि नियमित सुनुवाइपछि हिजो फैसला सुनाएको हो । यसअघि जिल्ला अदालतले गोरेलाई कर्तव्य ज्यान मुद्दामा जन्मकैदको फैसला सुनाएको थियो ।
उच्च अदालतले जिल्ला अदालतबाट जन्मकैद (२० वर्ष) को सजाय पाएका केही प्रतिवादीहरूको हकमा भने सजाय घटाएको छ ।
नरेन्द्र कार्की, मोहन काफ्ले र भोजराज भण्डारीको पुनरावेदनमा सुनुवाइ गर्दै अदालतले उनीहरूलाई १०-१० वर्ष मात्रै कैद सजाय तोकेको छ । यसअघि उनीहरूलाई जिल्ला अदालतले २० वर्ष कैद सुनाएको थियो ।
त्यसैगरी, कर्तव्य ज्यान मुद्दामा मतियारका रूपमा संलग्न देखिएका मदन सिलवालको हकमा जिल्लाको फैसला उल्ट्याउँदै उच्च अदालतले ३ वर्ष कैद सजाय सुनाएको छ । लाक्पा शेर्पा र भविन तामाङको पुनरावेदन भने अदालतले खारेज गरिदिएको छ, जसका कारण उनीहरूको हकमा जिल्लाकै फैसला सदर भएको छ ।
अदालतले करिब ३८ क्विन्टल सुन तस्करीसँग जोडिएको संगठित अपराध र भन्सार चोरी निकासीको मुद्दामा भने सबै प्रतिवादीको हकमा दाबी नपुग्ने ठहर गरेको छ । .
यसअघि जिल्ला अदालतले पनि यी मुद्दामा पूर्वप्रहरी अधिकारी र व्यापारीसहित अधिकांशलाई सफाइ दिएको थियो । उच्च अदालतले सोही फैसलालाई सदर गरिदिएको हो ।
यसअघि सफाइ पाउनेहरूमा पूर्वडीआईजी गोविन्दप्रसाद निरौला, तत्कालीन एसएसपी श्यामबहादुर खत्री, दिवेश लोहनी, डीएसपी सञ्जयबहादुर राउत, प्रजित केसी, सई बालकृष्ण सञ्जेल लगायतका उच्च प्रहरी अधिकारीहरू रहेका थिए ।
के थियो घटना ?
२०७४ साल माघ ९ गते दुबईबाट तस्करी गरी ल्याइएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकाल्ने क्रममा गायब भएको थियो ।
सोही सुन खोज्ने क्रममा गोरेको समूहले २०७४ फागुन १८ गते उर्लाबारी-१ मा सनम शाक्यलाई करेन्ट लगाएर यातना दिँदै हत्या गरेको थियो ।
अनुसन्धानका क्रममा यो समूहले २०१५ जुलाईदेखि २०१६ अगस्टसम्ममा करिब ३८ क्विन्टल (३७ लाख ९९ हजार ५ सय ६३ ग्राम) सुन अवैध रूपमा नेपाल भित्र्याएको खुलेको थियो ।
सरकारले यस प्रकरणको छानबिनका लागि सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा विशेष समिति गठन गरेको थियो प्रहरीले ७७ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरे पनि तस्करी भएको भनिएको ३३ किलो सुन भने हालसम्म फेला पर्न सकेको छैन ।
