मंगलबार २७ माघ, २०८२

डिजिटल नेपाल निर्माणका लागि विश्व बैंकले ७ अर्ब २२ करोड रुपैयाँ सहयोग गर्ने

डिजिटल नेपाल निर्माणका लागि विश्व बैंकले ७ अर्ब २२ करोड रुपैयाँ सहयोग गर्ने

काठमाडौं । विश्व बैंकले नेपालमा डिजिटल सार्वजनिक पूर्वाधार सुदृढ गर्न र सार्वजनिक सेवाहरूलाई डिजिटल माध्यममा रूपान्तरण गर्न ५० मिलियन अमेरिकी डलर (७ अर्ब २२ करोड ५० लाख रुपैयाँ) को वित्तीय सहयोग स्वीकृत गरेको छ । 

विश्व बैंकको कार्यकारी निर्देशकहरूको बोर्डले मंगलबार (आज) यस्तो निर्णय गरेको हो । यसले जनतासम्म सेवा पुर्याउने तरिकामा मौलिक परिवर्तन ल्याउने विश्व बैंकले जनाएको छ ।

उक्त रकम नेपाल डिजिटल रूपान्तरण परियोजनाअन्तर्गत एकीकृत अनलाइन नागरिक सेवा पोर्टल, एकीकृत सामाजिक रजिष्ट्री, सुरक्षित डाटा आदान–प्रदान प्रणाली, तथा प्रमाणीकरणयोग्य प्रमाणपत्र व्यवस्थापन र डिजिटल वालेटका लागि डिजिटल लकरजस्ता डिजिटल प्लेटफर्महरूमा लगानी गरिनेछ।

परियोजनाले भूमि प्रशासनजस्ता उच्च प्रभाव पार्ने सेवाहरूलाई डिजिटल बनाउने काम पनि गर्नेछ र अन्य सेवाहरू चरणबद्ध रूपमा थपिँदै जानेछन् ।

साथै कानुनी तथा नियामक ढाँचा सुधार गरेर डाटा पूर्वाधार बजारमा निजी क्षेत्रको लगानी बढाउने लक्ष्य राखिएको छ । डिजिटल अर्थतन्त्रप्रति विश्वास बढाउन इलेक्ट्रोनिक हस्ताक्षर, साइबर सुरक्षालगायत डाटा शासनमा समेत लगानी गरिनेछ ।

यो परियोजना विश्व बैंक र एसियाली विकास बैंक ९एडीबी० बीचको पूर्ण आपसी निर्भरता ढाँचा अन्तर्गत संयुक्त सह–वित्तीय व्यवस्थामार्फत वित्तपोषण गरिनेछ । विश्व बैंक प्रमुख ऋणदाता रहनेछ भने एडीबी ट्रेल ऋणदाताको रूपमा रहनेछ र ४० मिलियन डलर योगदान गर्नेछ । एडीबीको व्यवस्थापनले यो परियोजना २०२६ मार्चमा बोर्डसमक्ष प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

परियोजनाको कार्यान्वयन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय परिचयपत्र तथा नागरिक दर्ता विभागमार्फत गरिनेछ ।