भद्रकालीबाट समातिएका युवकविरुद्ध १९ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा
काठमाडौं । भद्रकालीबाट समातिएका बाराको कलैया उपमहानगरपालिका-२० का २४ वर्षीय मोहम्मद सेफविरुद्ध करिब २० करोडको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ ।
मंसिर १० गते साँझ पक्राउ परेका सेफको मोबाइलमा १९ करोड ८१ लाख ४९ हजार ६८१ रुपैयाँ बराबरको शंकास्पद कारोबार भेटिएको प्रहरीले जनाएको छ । सोही कारोबारबराबर बिगो मागदाबी गर्दै उनीविरुद्ध मुद्दा दायर गरिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको हो ।
प्रहरीले पक्राउ गर्दा सेफबाट दुई थान मोबाइल बरामद भएको थियो । उक्त मोबाइलमा क्रिप्टोकरेन्सीको कारोबार भेटिएको थियो । मोबाइललाई डिजिटल फरेन्सिक ल्याबमा जाँचका लागि पठाइएको थियो । सो क्रममा थप प्रमाणहरू भेटिएको प्रहरीले बताएको छ ।
उनले अनलाइनमार्फत चिनजान भएका मुराध आलम भन्ने व्यक्तिमार्फत क्रिप्टोको कारोबार गरेको प्रहरी समक्ष बयानका क्रममा बताएका छन् । क्रिप्टो कारोबार गर्दा राम्रो फाइदा हुने बताएकाले आफूले कारोबार गरेको उनले बयान दिएका छन् ।
मुराधले नाफा भएपछि मासिक रूपमा २०० देखि २५० अमेरिकी डलर दिने गरेको सेफले प्रहरीसमक्ष बयान दिएका छन् ।
