मंगलबार २७ माघ, २०८२

बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री

बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री

काठमाडौँ । सरकारले मंगलबार चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने भएको छ । अर्थमन्त्री डा.रामेश्वर खनालले मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै बजेट कार्यान्वयनको अर्धवार्षिक (छ महिनाको) समीक्षा सार्वजनिक गर्ने भएका हुन् । 

बजेट कार्यान्वयनको स्थिति छ महिनामा भएको खर्च र आम्दानीको समीक्षासहित बाँकी छ महिनाका लागि खर्च र आम्दानी दुबैको लक्ष्य संशोधनसहित समीक्षा सार्वजनिक गर्ने तयारी रहेको मन्त्रालयले जनाएको छ । यद्यपि, कुन परिमाणमा बजेट खर्च र आम्दानीको लक्ष्य संशोधन हुन्छ, सो भने खुलाएको छैन ।

सरकारले चालु आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रूपैयाँ बराबरको अनुमानित बजेट ल्याएको थियो । उक्त बजेट कार्यान्वयको स्रोत सुनिश्चितताका लागि सरकारले १५ खर्ब ३३ अर्ब ४४ करोड रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । यसरी स्रोत व्यवस्थापन गर्दा अपुग हुने ५ खर्बमाथिको बजेट भने सार्वजनिक ऋणमार्फत व्यहोर्ने सरकारको योजना छ ।

महालेखा निन्त्रक कार्यालय कार्यालयका अनुसार २७ माघसम्ममा ७ खर्ब ९२ अर्ब १० करोड रूपैयाँ बजेट खर्च भएको छ । यो विनियोजित बजेटको ४०।३३ प्रतिशतको खर्च हो । यसैगरी समीक्षा अवधिमा राजस्वतर्फ ६ खर्ब ७० अर्ब २० करोड रूपैयाँ संकलन भएको छ, जुन लक्ष्यको ४३।७१ प्रतिशतको उपलब्धी हो । 

समीक्षा अवधिको आय व्ययको स्थिति हेर्दा बजेट कार्यान्वयन कूल १ खर्ब २१ अर्ब ८९ करोड रूपैयाँले घाटामा रहेको छ ।