सिरहा कारागार तनाव : सुरक्षामा कडाई, १२ कैदी स्थानान्तरण
सिरहा। सिरहा कारागारमा देखिएको असहज अवस्थापछि प्रशासनले सुरक्षा व्यवस्था कडा बनाउँदै १२ जना कैदीलाई अन्य कारागारमा स्थानान्तरण गरेको छ । अवस्था सम्हाल्न जिल्ला सुरक्षा समितिको बैठक पनि बसेको छ ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको नेतृत्वमा बसेको बैठकमा कारागारको सुरक्षा, कैदी व्यवस्थापन र हालको अवस्थाबारे छलफल भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बैठकपछि आवश्यक निर्णय सार्वजनिक गरिने बताइएको छ ।
प्रशासनका अनुसार गोप्य सूचनाका आधारमा सोमबार बिहान गरिएको विशेष सर्च अपरेसनमा कारागारभित्र हतियार, गोली, नगद तथा प्रतिबन्धित सामग्री फेला परेको थियो। सो क्रममा १३ जना कैदीलाई नियन्त्रणमा लिइएको थियो। तीमध्ये एक जना रिहा भएका छन् भने बाँकी १२ जनालाई नुवाकोट, काठमाडौं केन्द्रीय र रौतहट कारागारमा पठाइएको छ ।
कारागार प्रशासनले अवैध गतिविधि नियन्त्रण र सुरक्षा सुदृढीकरणका लागि कैदी स्थानान्तरण गरिएको जनाएको छ। हाल कारागारभित्र र बाहिर सुरक्षाकर्मी परिचालन बढाइएको छ।
१५० जनाको क्षमता रहेको सिरहा कारागारमा हाल ४३६ जना कैदीबन्दी रहेका छन्। प्रशासनले कारागार व्यवस्थापन र सुरक्षा सुधारका लागि थप अध्ययन र निगरानी जारी राखेको जनाएको छ।
